कांग्रेसको १४ औं महाधिवेशनका लागि बनेको नयाँ गुट

काठमाडौं । नेपाली कांग्रेस सभापतिमा पदमा छ जनाले उम्मेदवारी दिएका छन् । वर्तमान सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिएका हुन्। छ जनाले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा चार जनाबीच हुने देखिन्छ।

सभापतिमा शेरबहादुर देउवाले प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन्। देउवाको समूहबाट उपसभापति पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार छन्। यसैगरी, महामन्त्रीमा प्रदीप पौडेल र डा। प्रकाशशरण महत रहेका छन् । पौडेल नेता कृष्णप्रसाद सिटौला समूहबाट आएका हुन्। सहमहामन्त्रीमा महिलाबाट डिना उपाध्याय, जनजातिमा भीष्मराज आङ्देम्बे, मधेसीमा महेन्द्र यादव, खसरआर्यमा किशोरसिंह राठौर, थारूमा उमाकान्त चौधरी, मुस्लिममा फर्मुल्लाह मन्सुर, पिछडिएकोमा जीवनबहादुर शाही र दलितमा मानबहादुर विश्वकर्मा रहेका छन्।

अर्का नेता प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदवारी दिएका छन्। उनको समूहबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मा छन्। यस्तै, शेखर कोइरालाको टिमबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल छन्। सहमहामन्त्रीमा खस आर्यबाट देवराज चालिसे, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, महिलाबाट कमला पन्त, मुस्लिमबाट शेख वकिल, आदिवासी जनजातिबाट विकास लामा र तेजुलाल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डेको उम्मेदवारी परेको छ। नेता विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। निधिको टिमको पदाधिकारीको नाम भने खुलेको छैन। यसैगरी, सभापतिमा नेता कल्याण गुरुङ र युवराज न्यौपानेले पनि उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति : २०७८ मङ्सिर २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस