स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित काठमाडौंको नागढुङ्गामा दुईजना पक्राउ

स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित काठमाडौंको नागढुङ्गामा दुईजना पक्राउ परेका छन्। महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले बाहिर जिल्लाबाट आउने सवारी साधनहरुलाई नागढुङ्गामा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारत मुम्बई महाराष्ट्र प्रदेश सङली जिल्ला थाना घर भएका २६ वर्षीय सागर माली र १९ का कृष्ण अढाडे रहेका छन् । उनीहरुमध्ये मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रकम बरामद भएको हो। चितवनबाट काठमाडौ आउँदै गरेको ग १ ख ६६४५ नंको यात्रुबाहक हाइस गाडीमा उक्त रकम बरामद भएको हो। हाइस गाडीमा सवार रहेका व्यक्तिलाई चेकजाँच गर्ने क्रममा उनीहरुको कालो झोलामा लुकाएर ल्याएको अवस्थामा ९५ लाख फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए। उनीहरु नियन्त्रणमा लिई सोधपुछ गर्ने गर्दा स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो। बस्नेतले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस