
दाङ, जेठ २७ । निर्वाचन आयोगले दाङसहित देशका विभिन्न स्थानीय तहका आठ जना वडा अध्यक्षले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेको ठहर गर्दै उनीहरूको निर्वाचित पद स्वतः रिक्त भएको जनाएको छ।
आयोगले २०८३ जेठ २७ गते सार्वजनिक गरेको सूचनाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयले सम्बन्धित जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको जानकारी आयोगलाई गराएको थियो। सोही आधारमा आयोगले २०८३ जेठ २६ गते निर्णय गर्दै आठ जना वडा अध्यक्षको पद रिक्त भएको घोषणा गरेको हो।
पद रिक्त हुनेहरूमा दाङको घोराही उपमहानगरपालिका–४ का वडा अध्यक्ष मधुसुदन शर्मा समेत रहेका छन्। उनी २०७९ सालको स्थानीय तह निर्वाचनबाट एमालेका तर्फबाट निर्वाचित भएका थिए।
आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरी अन्य दलमा प्रवेश गर्ने निर्वाचित जनप्रतिनिधिको पद स्वतः रिक्त हुने कानुनी व्यवस्था छ।
दाङका शर्मा सहित ओखलढुङ्गा, पाल्पा, ललितपुर र मोरङका वडा अध्यक्षहरूको पद पनि रिक्त भएको आयोगले जनाएको छ। आयोगले सम्बन्धित सबै निकाय तथा सरोकारवालाको जानकारीका लागि उक्त सूचना सार्वजनिक गरेको हो।
यस निर्णयसँगै घोराही उपमहानगरपालिका–४ सहित सम्बन्धित वडाहरूमा रिक्त पदपूर्तिका लागि कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

