प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध : प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर उत्पन्न राजनीतिक विवादका कारण प्रतिनिधिसभा बैठक पुनः प्रभावित भएको छ। विपक्षी दलहरूको निरन्तर अवरोधपछि सोमबारको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको छ।

बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाउँदै उठेपछि सभामुख डोलप्रसाद अर्यालले प्रारम्भिक रूपमा १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो। तर दलहरूबीच सहमति हुन नसकेपछि संसद् सचिवालयले औपचारिक सूचना जारी गर्दै बैठक अर्को दिनसम्मका लागि स्थगित गरेको हो।

संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन तथा त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै आएका छन्। प्रधानमन्त्रीको अभिव्यक्ति नसच्याइए वा फिर्ता नलिएसम्म संसद् चल्न नदिने अडान विपक्षी दलहरूको रहेको छ।

प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको केही भूभाग मिचेको रहेछ’ भन्ने आशयको अभिव्यक्ति दिएपछि संसद् र राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया उत्पन्न भएको छ। विपक्षी दलहरूले उक्त अभिव्यक्तिलाई राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलतासँग जोडिएको विषय भन्दै गम्भीर रूपमा लिएका छन्।

गएको फागुन २१ गतेको निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभामा पहिलोपटक सूचना टाँसेर बैठक स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएको हो। यसले संसद्को नियमित कार्यसूची तथा विधायन प्रक्रियामा समेत असर पार्ने देखिएको छ।

राजनीतिक दलहरूबीच सहमति कायम हुन नसके संसद् अवरोध अझै लम्बिन सक्ने संकेत देखिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीबाट प्रत्यक्ष जवाफको माग गरिरहेका छन् भने सत्ता पक्षले अन्य माध्यमबाट विषय स्पष्ट गर्न सकिने धारणा राख्दै आएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस