दाङ, जेठ १७ । झिल्का साहित्य समाज नेपालको आयोजनामा पुस्तक विमोचन तथा झिल्का वाचन कार्यक्रम शुक्रवार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा सम्पन्न भएको छ। कार्यक्रम झिल्का साहित्य समाज नेपालका अध्यक्ष तथा झिल्का प्रवर्तक वसन्त अनुभवको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा. धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नवीन काव्यिक विधा ‘झिल्का कविता’ सम्बन्धी तीन वटा कृतिको विमोचन गरिएको थियो। विमोचित कृतिहरूमध्ये नेपाल, भारतलगायत विभिन्न देशमा रहेका ८३ जना नेपालीभाषी झिल्काकारहरूको संयुक्त झिल्का कवितासङ्ग्रह ‘आवाज’, झिल्काकार वसन्त अनुभवको एकल झिल्का कवितासङ्ग्रह ‘अनुभव’ तथा झिल्काकार सुरेशकुमार पाण्डेको झिल्का कवितासङ्ग्रह ‘आँगन’ रहेका थिए। ‘अनुभव’ कृतिको समीक्षा समीक्षक प्रमोद नेपालले, ‘आँगन’ कृतिको समीक्षा अनुराग अरुणले तथा संयुक्त झिल्का कवितासङ्ग्रह ‘आवाज’ को समीक्षा अरुणबहादुर खत्री नदीले गर्नुभएको थियो।
कार्यक्रममा कृति प्रकाशनमार्फत योगदान पुर्याएबापत झिल्काकार सुरेशकुमार पाण्डेलाई ‘झिल्का साहित्य समृद्धि सम्मान २०८३’ प्रदान गरिएको थियो। त्यसैगरी झिल्का कवितालाई पत्रपत्रिकामार्फत प्रवर्द्धन गरेको भन्दै ‘अग्रिम साप्ताहिक’ र ‘संसार न्युज’ लाई ‘झिल्का साहित्य सम्मान २०८३’ प्रदान गरिएको थियो। त्यस्तै ‘आवाज’ संयुक्त झिल्का सङ्ग्रहमा समावेश सम्पूर्ण सर्जकहरूलाई ‘झिल्काश्री साहित्य सम्मान २०८३’ द्वारा सम्मान गरिएको थियो। कार्यक्रममा दुई दर्जनभन्दा बढी अतिथिहरूलाई मायाको चिनो ‘टोकन अफ लभ’ समेत प्रदान गरिएको थियो।
पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा झिल्काकार रामप्रसाद पुरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा कवि तथा साहित्यकार ललिता दोषी, हरिवन नगर वाङ्मय प्रतिष्ठानका कुलपति घनश्याम पन्त तथा हाम्रो लघुकथा केन्द्रकी संस्थापक अध्यक्ष लता के.सी. विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी नेपाल हाइकु समाजका अध्यक्ष चेतनाथ धमला, टुक्का साहित्य समाजका कोषाध्यक्ष होमप्रसाद नेउपाने, पञ्चाङ्गकी प्रतिनिधि सुशीला पौडेल, लघुकथा संसार/कविता संसारका सम्पादक त्रिचन्द्र श्रेष्ठलगायत साहित्यिक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा कृष्णकुमार वैद्य, राजेशराज गड्तौला, जयनारायण नेपाल, अर्जुनप्रसाद चौलागाईं, हरिगोपाल न्हुच्छेप्रधान, पुष्पा सुवेदी, चुडामणि देवकोटा, कृष्णबहादुर बजगाईँ, सन्दीप बि.क., रबिता महर्जन, पुष्पा राई, राजकुमार राजभण्डारी, बेदु न्यौपाने, जमुना आचार्य कोइराला, दीपा गुरुङ समभाव, सरस्वती श्रेष्ठ, दीप गोले तामाङ, जगन्नाथ पोखरेल, देवकी आचार्य, रमिला राई, कल्पना भण्डारी, सन्तोष खत्री, हरि पथिक, रामचन्द्र दाहाल, इन्दिरा ढकाल, राजु तामाङ, शिशिर चालिसे, सुनिता अधिकारी, सागर महर्जन, सूर्यबहादुर सेन, दिवाकर देवकोटा, रश्मी रिमाल, युवराज सिंह, अच्युत अधिकारीलगायत स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा घनश्याम पन्त, लता के.सी., सञ्जय सोती, अर्जुनप्रसाद चौलागाईं, ईश्वर लामिछाने, सरस्वती श्रेष्ठ, नेत्रबहादुर श्रेष्ठ, रामप्रसाद पुरी तथा जमुना आचार्य कोइरालालगायतका स्रष्टाहरूले झिल्का कविता वाचन गर्नुभएको थियो।
झिल्काकार दीपा गुरुङ समभावले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम चार घण्टाभन्दा बढी समयसम्म चलेको थियो।


