राेल्पा, कुरेलीमा बाल अनुदानको सदुपयोगका लागि अभिभावकसँग अन्तरक्रिया सम्पन्न

रोल्पा, १८ वैशाख । रोल्पाको परिवर्तन गाउँपालिकामा बाल अनुदानको प्रभावकारी उपयोग र बालबालिकाको पोषण सुधारका विषयमा अभिभावकहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। परिवर्तन गाउँपालिका, पुतलाचौरको आयोजनामा वडा नं. १ स्थित कुरेलीमा उक्त कार्यक्रम शुक्रवार सम्पन्न गरिएको हो।
वडा नं. १ का वडा अध्यक्ष मैते बुढा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बालबालिकाको सुनौलो भविष्य र उनीहरूको स्वास्थ्यका विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो। कार्यक्रममा स्वास्थ्य शाखाका प्रतिनिधिहरू अनिशा घर्ती र नन्दा बुढा लगायतले सहभागी अभिभावकहरूलाई विशेष प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणका क्रममा बालबालिकालाई पोषणयुक्त खाना कसरी खुवाउने र स्थानीय स्तरमा उपलब्ध खाद्यान्नको प्रयोग गरी कसरी सन्तुलित भोजन तयार पार्ने भन्नेबारे जानकारी दिइएको थियो। साथै, सरकारले प्रदान गर्दै आएको बाल पोषण भत्तालाई अन्य काममा खर्च नगरी पूर्ण रूपमा बालबालिकाकै पोषण र स्वास्थ्यमा कसरी सदुपयोग गर्ने भन्ने विषयमा समेत अभिभावकहरूलाई सचेत गराइएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष मगरले बालबालिकाको खानपान र सरसफाइमा ध्यान दिन सके मात्र दक्ष जनशक्ति तयार हुने बताउँदै अनुदानको रकम सही ठाउँमा उपयोग गर्न आग्रह गर्नुभयो। कार्यक्रममा स्थानीय अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८३ बैशाख २० गते आइतवार
प्रतिक्रिया दिनुहोस