घोराही, १८ वैशाख । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका दाङका भूमिहीन सुकुम्बासीहरूको पक्षमा काम गर्ने संगठनहरूले शुक्रबार घोराहीमा प्रदर्शनपछि ज्ञापनपत्र बुझाएका छन्।
भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, जिल्ला समिति दाङका अध्यक्ष बसन्त नेपाल, मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरी, दलित संगठन दाङका अध्यक्ष शंकर नेपाली तथा गुठीमोही संगठन दाङका अध्यक्ष प्रभु चौधरीले हस्ताक्षर गरेको ज्ञापनपत्र नेपाल पत्रकार महासंघका केन्द्रीय सचिवमार्फत बुझाइएको हो।
श्रमिक दिवसका कारण सरकारी बिदा रहेकाले जिल्ला प्रशासन कार्यालय दाङमा प्रत्यक्ष रूपमा ज्ञापनपत्र बुझाउन नसकिएको जनाउँदै भूमिहीन संगठनहरूले आफ्ना मागहरू सम्बन्धित निकायसम्म पुर्याइदिन अनुरोध गरेका छन्।
उक्त अवसरमा ज्ञापनपत्र बुझ्दै महासंघका केन्द्रीय सचिवले त्यसमा उल्लिखित माग र सन्देश सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।


