रोल्पा दुर्घटनाको तीन दिनपछि रास्वपाको प्रतिक्रिया : नागरिक सुरक्षा पहिलो प्राथमिकता

दाङ, १९ वैशाख । सत्ताको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक पूर्वाधार विकासमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

पूर्वी रुकुमबाट रोल्पाको थवाङ गाउँपालिका अन्तर्गत जलजला जाँदै गरेको जीप दुर्घटनामा परेको तीन दिनपछि रास्वपाले विज्ञप्ति जारी गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेको हो।

रास्वपाका प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आगामी दिनमा यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन सवारी दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा हामी दृढतापूर्वक अघि बढ्नेछौं।”

पार्टीले नागरिकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट पारेको छ। “नागरिक सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै प्रभावकारी र जिम्मेवार कदम चाल्नु अपरिहार्य रहेकोमा हामी स्पष्ट छौं,” विज्ञप्तिमा उल्लेख छ।

१७ वैशाखमा भएको उक्त दुर्घटनामा २० जनाको ज्यान गएको थियो। रास्वपाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै चुनौतीपूर्ण भौगोलिक अवस्थामा उद्धार कार्यमा खटिएका सबैप्रति उच्च सम्मान प्रकट गरेको छ।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस