दाङ, १६ वैशाख ।अविरल वर्षाका कारण विभिन्न स्थानमा बनाइएका डाइभर्सन बग्दा बीपी राजमार्ग पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ। सोमबार निर्माण गरिएका डाइभर्सन मंगलबार राति रोशी खोलामा आएको बाढीले बगाएपछि राजमार्ग फेरि अवरुद्ध भएको हो।
इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी खोलामा आएको बाढीले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुङ्गा, डालाबेशी, बुलढुङ्गा तथा माम्ती क्षेत्रमा रहेका डाइभर्सन बगाएको छ।
डाइभर्सन बग्दा बीपी राजमार्गअन्तर्गत काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलीखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा सवारी साधनहरू होल्ड अवस्थामा राखिएका छन्।
धुलीखेलमा रोकिएका सवारी साधनलाई चरिकोट हुँदै गन्तव्यतर्फ पठाइसकिएको प्रहरीले जनाएको छ। मङ्गलटारमा होल्ड गरिएका चार वटा विद्युतीय सवारी (ईभी) मा रहेका १६ जना यात्रुलाई तेमालको सडक हुँदै धुलीखेलतर्फ पठाउने तयारी भइरहेको छ।
बीपी राजमार्ग हुँदै यात्रा गर्ने योजना बनाएका यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ। सडकको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।


