आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं, १५ वैशाख । आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। यसका कारण हवाई तथा सडक यातायात सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लालाई पहेँलो संकेत (यलो अलर्ट) जारी गर्दै वैशाख १५ र १६ गते मौसमको अद्यावधिक जानकारी लिएर मात्र दैनिक कार्य गर्न आग्रह गरेको छ।

विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार यी दुई दिनमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। साथै हिमाली क्षेत्रमा मध्यम स्तरको हिमपात पनि हुन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए।

उनले भने, “वैशाख १५ र १६ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका बासिन्दाले मौसमसम्बन्धी पछिल्लो जानकारी लिएर मात्र आफ्नो काम अघि बढाउनुपर्छ।”

मौसमविद् पुडासैनीका अनुसार वैशाख १५ गते कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै, वैशाख १६ गते पनि वर्षा जारी रहने सम्भावना रहेको छ। उक्त दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा वा हिमपात हुने सम्भावना छ।

वैशाख १६ गते नै कोशी र मधेश प्रदेशका एक–दुई स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

यस वर्षाले गर्मी, डढेलो र प्रदूषण कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। केही दिनअघिसम्म पश्चिमी तराई क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मी महसुस भए पनि अबको वर्षाले मौसममा शीतलता ल्याउने मौसमविद्हरूको भनाइ छ।

हाल गण्डकी प्रदेशअन्तर्गत लमजुङ, कास्की, पर्वत र स्याङ्जा तथा बागमती प्रदेशको नुवाकोटका एक–दुई स्थानमा वर्षा भइरहेको छ। तीमध्ये लमजुङको बेँसीसहरमा एक घण्टामै १२.२ मिलिमिटरसम्म वर्षा मापन गरिएको छ, जसलाई मध्यम वर्षाका रूपमा वर्गीकरण गरिन्छ।

प्रकाशित मिति : २०८३ बैशाख १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस