रास्वपाद्वारा परिवर्तन गाउँपालिकासँग विकास योजनाको विवरण माग

रोल्पा, चैत २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्यसमिति राेल्पाले परिवर्तन गाउँपालिकामा वि.सं. २०७४ पछि सञ्चालन भएका विकास योजनाहरूको विस्तृत विवरण माग गरेको छ। पार्टीका सचिव भूपेन्द्र सिंह वलीद्वारा हस्ताक्षरित पत्रमार्फत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई उक्त जानकारी उपलब्ध गराउन अनुरोध गरिएको हो।

No description available.

पत्रमा “गाउँ–गाउँमा सिंहदरबार” भन्ने नारासँग स्थानीय तहमा सेवा प्रवाह विस्तार भए पनि पछिल्लो समय सञ्चालन भएका विकास योजनाहरूको प्रभावकारिता, पारदर्शिता तथा दीर्घकालीन उपलब्धिबारे नागरिक तहबाट चासो र प्रश्न उठिरहेको उल्लेख गरिएको छ। सोही सन्दर्भमा रास्वपाले २०७४ सालदेखि हालसम्म निर्वाचित जनप्रतिनिधिहरूको कार्यकालमा सम्पन्न योजनाहरूको यथार्थ अवस्था अध्ययन गर्न आवश्यक रहेको जनाएको छ।

रास्वपाले योजनाको नाम, स्थान, लागत, सम्पन्न मिति र वर्तमान अवस्था सहित ती योजनाहरू व्यवहारमा कत्तिको प्रभावकारी छन् भन्ने विवरण माग गरेको छ। साथै, कार्य सम्पन्न भइसकेपछि गरिएको मूल्याङ्कन (पोस्ट–इम्प्लिमेन्टेशन रिभ्यु) सम्बन्धी प्रतिवेदन, गुणस्तर, दिगोपन तथा प्रभावको विश्लेषणसमेत उपलब्ध गराउन अनुरोध गरिएको छ।

त्यसैगरी उपभोक्ता समितिमार्फत सम्पन्न योजनाहरूमा सार्वजनिक सुनुवाइ (पब्लिक अडिट) गरिएको वा नगरिएको विवरण, गुणस्तर परीक्षण तथा दीर्घकालीन प्रभाव मूल्याङ्कनको अवस्थाबारे पनि जानकारी मागिएको छ।

पत्रमा योजना कार्यान्वयनका क्रममा अपनाइएका पारदर्शी प्रक्रिया, अनुगमन तथा मूल्याङ्कन संयन्त्रसम्बन्धी सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरिएको छ। रास्वपाले यी विवरण लिखित वा डिजिटल माध्यमबाट उपलब्ध गराउन अनुरोध गर्दै यसले सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

पार्टीले सुशासनको सुरुवात सबैबाट हुने उल्लेख गर्दै सम्बन्धित निकायबाट सकारात्मक सहयोगको अपेक्षा राखेको जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस