घाेराही, चैत्र १७ । नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा दाङ शाखाले आयोजना गरेको दुईदिने ‘मिडिया, कानुन र संहिता’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रम जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागितामा दुई दिनसम्म सञ्चालन भएको थियो।
सोमबार नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख मेयर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको थियो। प्रशिक्षण कार्यक्रममा पहिलो सत्रमा नेपाल पत्रकार महाहसंघ दाङ शाखाका पुर्व अध्यक्ष डा. सुदीप गौतमले ‘मिडिया र कानुनी संरचना’ सम्बन्धी विषयमा सहजीकरण गर्दै पत्रकारहरूले कानुनी ज्ञानसँगै जिम्मेवार सञ्चार अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जाेड दिनु भएकाे थियाे । उहाँले सञ्चारकर्मीहरूलाई सत्य, निष्पक्षता र व्यावसायिक आचरणमा आधारित पत्रकारिता गर्न आग्रह गर्नु भएकाे थयाे ।
त्यसैगरी दोस्रो सत्रमा नेपाल पत्रकार महाहसंघ दाङ शाखाका पुर्व अध्यक्ष दुर्गालाल के.सी.ले ‘पत्रकार आचारसंहिता र व्यावसायिक नैतिकता’ विषयमा प्रशिक्षण प्रदान गर्दै सञ्चार क्षेत्रमा विश्वसनीयता कायम राख्न आचारसंहिताको पालना अनिवार्य रहेकोमा जाेड दिनु भएकाे थियाे । उहाँले गलत सूचना नियन्त्रण र जिम्मेवार समाचार सम्प्रेषणमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनु भएकाे थियाे ।
कार्यक्रममा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरूले यस्तो प्रशिक्षणले आफूहरूको ज्ञान र सीप अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुगेको बताएका थिए। उनीहरूले आगामी दिनमा यस्ता व्यावहारिक तथा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए।
स्थापना दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम मंगलबार प्रशिक्षण सम्पन्न भएसँगै औपचारिक समापन गरिएको हो। समापन कार्यक्रम नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन महासंघ दाङ शाखाका सचिव जे.एन. सागरले गर्न्र भएकाे थियाे ।


