बालेन्द्र शाहको प्रधानमन्त्रीतामा युवा उत्साह

दाङ, चैत्र १३ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मुलुकको ४३औं प्रधानमन्त्री नियुक्त हुँदा विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ।

शितल निवासमा आयोजित शपथ समारोह, सिंहदरबारमा पदभार ग्रहण, र सामाजिक सञ्जालमा देखिएका दृश्यहरूले बालेन प्रधानमन्त्री भएका विषयमा खुशीको अनुमान लगाउन सकिन्छ। हिन्दू र बौद्ध धार्मिक विधि अनुसार साइत हेरेर प्रधानमन्त्री पदको शपथ लिँदै गर्दा शितल निवासमा उनका समर्थकहरूले नारा पनि लगाएका थिए।

बालेनको समर्थनमा नारा लाग्नु पछिल्ला केही वर्ष यता नयाँ दृश्य होइन। गैरदलीय उम्मेदवार बनेर २०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयर निर्वाचित भएपछि, बालेनप्रतिको आकर्षण सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा लगातार बढ्दै आएको छ।

र्‍यापर पृष्ठभूमिका इन्जिनियर बालेनको लोकप्रियता मतमा परिवर्तन ल्याउने तत्व बनेको थियो। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा होम्दा २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिट जितेर दुई तिहाइ नजिकको सफलता हासिल गरेको थियो।

राजनीति विश्लेषक चन्द्रकिशोरले रास्वपाको जित र बालेनको सत्तारोहणलाई नेपाली राजनीतिमा आएको सिफ्टको रूपमा मूल्याङ्कन गरेका छन्। उनी भन्छन्, “विरासत र हिरासतको मान्यता बोकेको राजनीतिको कायान्तर भयो। नयाँ सोच, मान्यता र स्वर सहित नयाँ चेहरा आइपुग्यो। पुराना दलहरूमा रहे अहिले सरकारको नेतृत्व गरेका, मन्त्री भएका र सांसद बनेकाहरूलाई वडाध्यक्षको टिकट पाउन समेत लायक मानिँदैन थियो।”

नयाँ सरकार गठन हुँदा देखिएका तथ्यहरूले पनि यही कुरा पुष्टि गर्छ। ३६ वर्षका बालेन प्रधानमन्त्री हुँदा उनका मन्त्रिपरिषद्‌मा १० जना मन्त्री ४० वर्ष मुनिका छन्। गृहमन्त्री सुधन गुरूङ ३८ वर्षका छन् भने २९ वर्षका सस्मित पोखरेल शिक्षा मन्त्री तथा सरकारको प्रवक्ता बनेका छन्।

प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस