राेल्पा, कुरेलीमा लघु उद्यम विकास सम्बन्धी ७ दिने तालिम सम्पन्न

राेल्पा, चैत्र ११ । रोल्पाको परिवर्तन गाउँपालिका–१, कुरेलीमा लघु उद्यम विकास सम्बन्धी ७ दिने सिपमूलक तालिम सम्पन्न भएको छ।

“सिप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने नारासहित सञ्चालन गरिएको उक्त तालिम लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो। परिवर्तन गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको यो तालिम सात दिनसम्म सञ्चालन गरिएको थियो।

तालिममा व्यवसाय सुधार तथा व्यवसाय विस्तार सम्बन्धी विषयमा सहभागीलाई प्रशिक्षण दिइएको थियो। कार्यक्रम वडा नं. १ का अध्यक्ष मैते बुढा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सचिव ज्वाला बुढा मगर, उद्यम विकास शाखा प्रमुख झक्कु डाँगी, पशु सेवा शाखाका कर्मचारी खम्ब बहादुर वली, उद्यम विकास शाखाकी कर्मचारी मनिषा घर्ती लगायतको उपस्थिति रहेको थियो।

तालिम सम्पन्न भएपछि सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने अतिथिहरूलाई स्वागत तथा सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष मैते बुढा मगरले वडा कार्यालयले उद्यमशीलतामा लाग्नेहरुलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कुरेली क्षेत्रमा हाल करिब तीन स्थानमा उद्योग सञ्चालन भइरहेको उल्लेख गर्दै पालिकाबाट पनि आवश्यक सहयोग भइरहेको जानकारी दिए। साथै सहभागीहरुलाई थप मेहनत र सक्रियताका साथ काम गर्न आग्रह गरे।

कुरेलीमा सञ्चालित अल्लो उद्योगमा हाल झोला, पटुका, बोर्ला, सोल, खाकी लगायतका सामग्री उत्पादन हुँदै आएका छन्।

कार्यक्रम सञ्चालन गायत्री रोका मगरले गर्नुभएको थियो भने तालिम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस