राेल्पा, चैत्र ७ । सुकिदह युवा क्लब, परिवर्तन गाउँपालिका–६, रोल्पाले आफ्नो सातौं वार्षिक उत्सव २०८२ आयोजना गर्ने भएको छ। वि.सं. २०७७ मा स्थापना भएको क्लबले समाज रूपान्तरणका लागि युवा, खेलकुद, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।
क्लबले जारी गरेको सूचनाअनुसार वार्षिक उत्सव आगामी चैत २७ गतेदेखि सञ्चालन हुनेछ। उद्घाटन समारोह सोही दिन बिहान ११ बजे हुने तय गरिएको छ। कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न देश तथा विदेशमा रहेका सम्पूर्ण शुभेच्छुक, सहयोगी तथा खेलप्रेमीहरूलाई सहभागी हुन क्लबले आग्रह गरेको छ।
उत्सवका अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरू आयोजना गरिनेछन्। जसअन्तर्गत वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय र तृतीय हुने टिमलाई क्रमशः रु. २५ हजार र रु. १५ हजारसहित पुरस्कार प्रदान गरिनेछ। साथै सान्त्वना पुरस्कार पनि व्यवस्था गरिएको छ।
त्यसैगरी खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः रु. ३० हजार, रु. २० हजार र रु. १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। एकल नृत्य प्रतियोगितामा उत्कृष्ट प्रतिभालाई रु. १० हजारसहित पुरस्कार प्रदान गरिनेछ भने अन्य प्रतियोगिताहरूमा समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूले चैत २७ गते साँझ ५ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ। खेलहरू हाल कायम वडा संरचनाअनुसार सञ्चालन गरिनेछ भने खेलाडीहरूले उद्घाटन समारोहमा खेल पोसाकसहित अनिवार्य उपस्थित हुनुपर्नेछ।
कार्यक्रम अवधिभर हुने सम्पूर्ण खेलकुद गतिविधि प्रचलित नियमअनुसार रेफ्रीद्वारा सञ्चालन गरिनेछ। खेल वा कार्यक्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्री तथा आयोजकको निर्णय नै अन्तिम मान्य हुने जनाइएको छ।
कार्यक्रममा झाँकी नृत्य तथा आमा समूहलाई पनि विशेष सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको छ। सहभागी टिमहरूले खाना तथा बसोबासको व्यवस्था आफैं गर्नुपर्नेछ।
उक्त उत्सवलाई सफल पार्न राजनीतिक दल, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघ–संस्था, खेलाडी, कलाकार, शिक्षक तथा सम्पूर्ण सरोकारवालाहरूलाई आयोजकले सहयोग र सहभागिताका लागि अनुरोध गरेको छ।


