घोराही, फागुन ३० । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामलाई लिएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) घोराही उपमहानगर कमिटीले निर्वाचन समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। नगर कमिटीका अध्यक्ष खिमबहादुर बौधरीको अध्यक्षता तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार निर्मल आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा समानुपातिक उम्मेदवार ससमती चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
समीक्षा कार्यक्रममा दाङ क्षेत्र नम्बर २ अन्तर्गत पर्ने घोराही उपमहानगरपालिकाका सबै वडाका निर्वाचन परिचालन समितिका संयोजकहरूले आ–आफ्नो वडा तहमा सञ्चालन गरिएका गतिविधि तथा प्राप्त मत परिणामबारे जानकारी गराएका थिए।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले वर्तमान अवस्थामा जनमत परिवर्तनको पक्षमा देखिएको उल्लेख गर्दै पार्टीले अपेक्षाभन्दा फरक तथा अप्रत्याशित नतिजा बेहोर्नुपरेको निष्कर्ष प्रस्तुत गरेका थिए। साथै उनीहरूले निर्वाचनबाट प्राप्त अनुभवलाई आत्मसात् गर्दै आगामी दिनमा संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारमा अझ सक्रिय हुनुपर्ने आवश्यकता औँल्याएका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा उम्मेदवार निर्मल आचार्यले निर्वाचनका क्रममा साथ र सहयोग गर्ने सम्पूर्ण नेताकार्यकर्ता तथा मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले निर्वाचनको नतिजाका कारण निराश वा कमजोर महसुस नगर्न आग्रह गर्दै आगामी दिनमा संगठन सुदृढीकरण, नेतृत्व विकास र जनतासँगको सम्बन्ध विस्तारमा अझ दृढतापूर्वक लाग्न नेताकार्यकर्तालाई आग्रह गर्नुभयो।
त्यसैगरी समानुपातिक उम्मेदवार ससमती चौधरीले निर्वाचनका क्रममा पार्टीका नेताकार्यकर्ताले देखाएको सक्रियता र जनसमर्थनको प्रशंसा गर्दै परिणामलाई आत्मसमीक्षाका रूपमा लिएर आगामी दिनमा अझ सशक्त ढंगले संगठन निर्माणमा लाग्नुपर्ने बताउनुभयो। उहाँले पार्टीका कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढेमा आगामी निर्वाचनमा सकारात्मक नतिजा प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
यस्तै कार्यक्रममा सहभागी वक्ताहरूले प्रतिनिधिसभा निर्वाचनको परिणाम जस्तोसुकै भए पनि त्यसलाई सकारात्मक रूपमा समीक्षा गर्दै आगामी २०८४ मा हुने स्थानीय तहको निर्वाचनका लागि अहिले देखिएको मत परिणामलाई आधार मानेर योजनाबद्ध रूपमा तयारीका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमको सहजीकरण नगर कमिटीका सचिव बसन्त चौधरीले गर्नुभएको थियो।


