रुकुमपश्चिम, १ चैत । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ खलंगास्थित झोलुङ्गे पुलबाट हाम्फाल्दा एक किशोरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी गाउँपालिका–१० सालघारी निवासी कर्णबहादुर ओलीका १७ वर्षीय छोरा महेन्द्र ओलीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार खलंगाको बहराहाटाकुरा र सल्ले जोड्ने झोलुङ्गे पुलबाट आज बिहान करिब ३ बजे महेन्द्रले हाम्फालेको भन्ने सूचना प्राप्त भएको थियो।
प्रहरीका अनुसार पुलबाट करिब दुई सय मिटर तल खोलामा खसेका महेन्द्र मृत अवस्थामा फेला परेका थिए। उनको टाउको फुटेको अवस्थामा दुई ढुङ्गाबीच शव अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
कक्षा १२ मा अध्ययनरत महेन्द्र मुसीकोट नगरपालिका–१ स्थित कारागार नजिकै कोठा भाडामा बस्दै आएका थिए। घटनास्थलमा प्रहरी निरीक्षक पुनको नेतृत्वमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार प्रेम सम्बन्धमा आएको असफलताका कारण उनले पुलबाट हाम्फालेको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।


