काठमाण्डौ, फागुन २३ । रुपन्देहीका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अग्रस्थानमा रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहिलेसम्मको मतगणनामा रास्वपाका उम्मेदवारहरूले अन्य दलका उम्मेदवारलाई पछि पार्दै सबै निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार रुपन्देही १ मा रास्वपाका उम्मेदवार सुनिल लम्साल १४ हजार ८ सय २४ मतका साथ अग्रस्थानमा रहेका छन् । उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रज्वल बोहराले ४ हजार ४ सय १४ मतका साथ पछ्याइरहनुभएको छ ।
रुपन्देही २ मा रास्वपाका उम्मेदवार सुलभ खरेल ३२ हजार १ सय ८८ मतका साथ अग्रस्थानमा छन् । उहाँलाई नेकपा (एमाले) का विष्णुप्रसाद पौडेलले ६ हजार ८ सय ४९ मतका साथ पछ्याइरहेका छन् ।
रुपन्देही ३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा २६ हजार २ सय ७३ मतका साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका सुशील गुरुङ ३ हजार ७ सय ९३ मतका साथ दोस्रो स्थानमा रहेका छन् भने रुपन्देही ४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ १६ हजार ९ सय ५१ मतका साथ अग्रस्थानमा छन् । उहाँलाई एमाले का प्रमोदकुमार यादवले १४ हजार ९ सय ४४ मतका साथ पछ्याइरहेका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभयो ।
रुपन्देही ५ मा रास्वपाका उम्मेदवार तौफिक अहमद खान १४ हजार ५३ मतका साथ अग्रस्थानमा छन् । उहाँलाई एमालेका खिमलाल भट्टराईले ४ हजार ९ सय २८ मतका साथ पछ्याइरहनुभएको छ ।


