त्रिवेणी गाउँपालिकाद्वारा सहकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम आयोजना

रोल्पा, फागुन १२ । त्रिवेणी गाउँपालिका, रोल्पाले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम आयोजना गर्ने भएको छ। गाउँ कार्यपालिकाको कार्यालय, करेटाबाट जारी पत्रअनुसार आर्थिक वर्ष २०८२/०८३ को समीक्षा कार्यक्रम २०८२ फागुन १३ गते बुधबार बिहान ११ बजे गाउँपालिकाको कार्यालयमा सञ्चालन गरिने जनाइएको छ।

कार्यक्रममा क्षेत्रभित्र क्रियाशील सबै सहकारी संस्थाबाट अनिवार्य रूपमा एक जना सञ्चालक र एक जना व्यवस्थापक उपस्थित हुन आग्रह गरिएको छ। समीक्षा कार्यक्रममा संस्थाहरूको समग्र अवस्था, वार्षिक प्रगति, कारोबारमा देखिएका समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल गरिनेछ। सहभागी संस्थाहरूलाई लेखा परीक्षण प्रतिवेदन, सहकारी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, वार्षिक प्रगति प्रतिवेदन तथा समस्या र अपेक्षासम्बन्धी विवरणसहित उपस्थित हुन भनिएको छ।

प्रमुख प्रशासकीय अधिकृत चेत नारायण केसीद्वारा हस्ताक्षरित पत्रमा सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गरिएको छ। कार्यक्रममा सहकारी संस्थाहरूका गतिविधि, चुनौती र आगामी योजनाबारे समेत व्यापक छलफल हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस