
काठमाडौं,
नेपाल पर्वतारोहण संघ (एनएमए)को यही भदौ ७ गते हुने निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जाल र केही मिडियामार्फत आफ्नो नाम जोडेर गरिएको अनर्गल प्रचारबाजीप्रति अध्यक्ष पदका प्रत्यासी फुर गेल्जे शेर्पा नेतृत्वको समूहले कडा आपत्ति जनाएको छ।
शेर्पाले मंगलबार जारी विज्ञप्तिमा विपक्षी समूहले मनगढन्ते कथा लेखेर व्यक्तिगत चरित्र हत्या गर्ने कार्य सुरु गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। उनले लोकतान्त्रिक अभ्यासमा हारजित स्वाभाविक भए पनि मतदातालाई भ्रममा पार्ने प्रयास “हतास मानसिकताको पराकाष्ठा” मात्र भएको प्रतिक्रिया दिएका छन्।
“हामी गलत हल्लाबाजीको कडा प्रतिवाद गर्दछौं र विपक्षी साथीहरूलाई गलत मनसायका कार्यमा प्रेरित नगर्न आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।
शेर्पाले हेलिकोप्टर कम्पनी र उद्धार सेवासम्बन्धी फैलाइएका आरोपलाई “पूर्णतस् निराधार” भन्दै खण्डन गरेका छन्। उनले कुनै पनि कम्पनी सञ्चालन गर्नका लागि नेपाल सरकारको इजाजत अनिवार्य हुने भएकाले यसलाई “फेक वा माफिया” भन्नु अनौठो भएको उल्लेख गरेका छन्।
बरु, उनले आफूलाई आरोप लगाउनेहरू नै हिमालमा पर्यटकलाई अलपत्र पार्ने र अनावश्यक उद्धारको आग्रह गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्।
“हामीसँग त्यसका पर्याप्त प्रमाण छन्, आवश्यक परे सार्वजनिक वा सम्बन्धित निकायमा बुझाउन सक्छौं,” शेर्पाले बताएका छन्।
उनले निर्वाचनलाई सफल बनाउन संयमता अपनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाउँदै आम मतदातालाई आपराधिक सोच भएका व्यक्तिहरूको भ्रममा नपर्न समेत अपिल गरेका छन्।
शेर्पाले आफ्नो समूहको विजय सुनिश्चित भइसकेको दाबी गर्दै विधिसम्मत औपचारिक नतिजा घोषणाको पर्खाइमा रहेको बताएका छन्।