पोखरामा साहीमासा कविता संग्रहको परिचर्चा सम्पन्न

२०८३ साउन ३० गते, पोखरामा कवि समीप बैरागीको कविता संग्रह साहीमासाको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । न्युरोडमा रहेको हिमालयन रिडर्स कर्नरको सभाहलमा साहीमासाको परिचर्चा गरिएको थियो ।

र्‍यान्डम रिडर्स सोसाइटी नेपालको आयोजनामा भएको उक्त परिचर्चा कार्यक्रमको स्वागत मन्तव्यमा बोल्दै र्‍यान्डम रिडर्स सोसाइटी नेपालका उपाध्यक्ष नेपाल प्रकाश अधिकारीले हरेक महिनाको अन्तिम सनिवार नियमित रुपमा हुँदै आएको १२९ औँ शृङ्खलामा रोल्पाली स्रष्टा कवि समीप बैरागीको सुन्दर कविता कृतिको परिचर्चा गर्ने शुभअवसर संस्थालाई प्राप्त भएकोमा खुशी व्यक्त गरेका थिए ।

नेपाल प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ सभा सदस्य दीपक समीपको विशेष आतिथ्यमा भएको परिचर्चा कार्यक्रममा साहित्यकार विपिन आचार्यले ´साहीमासा : क्रान्ति, सपना र श्रमको गीत` शिर्षकको अवधारणापत्र प्रस्तुत गरेका थिए । श्रम र वर्गीय चेतनाको स्वर, प्रेम प्रकृति र मानवीय संवेदनाको आयाम, जनयुद्ध राजनीति चेतना र परिवर्तनको आकाङ्क्षा, मगर संस्कृति स्थानीय जीवन र साँस्कृतिक क्षय, वैदेशिक पलायन र नेपाली युवाहरूको जीवन संघर्ष, परिवर्तन पछि पनि अपेक्षित नबदलिएको जनजीवन, प्रकृति पर्यावरण र पूँजीवादी दोहन, साहीमासाको समग्र काव्यिक अवधारणा, गरी ८ वटा खण्डमा अवधारणापत्र तयार बनाएका थिए । परिचर्चाकारले अवधारणापत्रमा उल्लेख गरेका छन् – ´संग्रहको भौगोलिक आधार रोल्पा,रुकुम तथा मगर समुदायको जनजीवन भएपनि यसको विषयगत दायरा त्यसभन्दा धेरै व्यापक छ । यहाँको स्थानीयता क्रमशः राष्ट्रिय यथार्थमा बिस्तार हुन्छ । मगर संस्कृतिको साहीमासाबाट सुरु भएको कविताको यात्रा अन्तत: सम्पूर्ण नेपाली युवाहरूको प्रेम, श्रम, पीडा, विस्थापन, संघर्ष र परिवर्तनको आकाङ्क्षासम्म पुगेको छ । यस कृतिले नेपाली साहित्य जगतमा श्रीवृद्धीको इँटा थपेको छ । एतिहास र वर्तमानको संगममा उभिएर सृजना भएको यस कृतिले भविष्यका सकल मनहरुलाई उज्ज्वल मार्गको खाका कोर्न सफल पाठ हुनेछ`

साहीमासा कविता संग्रहमा आधारित अवधारणापत्र प्रस्तुत पछि अवधारणापत्र र कविता संग्रह माथि कवि, लेखकहरू बीच वृहत् रुपमा बहस भएको थियो । उक्त बहसमा स्रष्टाहरू कमल, गौरी तमु, एस.बी. थापा मगर लगायतले आफ्ना जिज्ञासा र प्रश्नहरू राखेका थिए । बहसमा उठेका प्रश्नहरूको जवाफ दिँदै कवि समीप बैरागीले साहीमासामा संग्रहित कविताहरू उनको जीवनदेखि टाढा नभएको बताएका थिए । कविले देखेको समाजको यथार्थ घटनाहरूको साक्षी र उनले छिचोल्दै आएका कहालीलाग्दा समयहरूलाई नै कवितामा उतारेको सुनाएका थिए । कविले साहीमासाको अर्थ विशेषगरी १८ मगरात क्षेत्र रोल्पा, रुकुम लगायतका मगर समुदायमा विवाह गर्नुभन्दा पहिले केटाले केटीलाई दिने रकमलाई नै साहीमासा लाउने दिने भन्ने गरिएको बताएका छन् ।

सोही कार्यक्रममा लामो समयदेखि पोखरालाई कर्मथलो बनाएर बसिरहेका रोल्पालीहरूको साझा संस्था ´रोल्पा पोखरा सम्पर्क समाज`ले कवि समीप बैरागीलाई सम्मान गरेको थियो ।

थबाङ गाउँपालिका ३, मिरुल, दाइपो, रोल्पा निवासी कवि समीप बैरागी वि.सं. २०४५ सालमा बुवा गोविन्द झाँक्री मगर र आमा सुनमाया झाँक्री मगरको जेठो सन्तानको रुपमा जन्मिएका थिए । साहित्य क्षेत्रमा समीप बैरागी नामले परिचित बैरागीको वास्तविक नाम भने टंक बहादुर झाँक्री मगर हो । उनी लामो समयदेखि कवितामा साधना गरिरहेका छन् ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस