घोराहीमा चाट, चटपटे तथा सेकुवा व्यवसायीलाई खाद्य स्वच्छता र सुरक्षाबारे अभिमुखीकरण

घोराही, जेठ २५ । घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको आयोजना तथा दाङ देउखुरी होटल व्यवसायी समितिको सहजीकरणमा चाट, चटपटे, पानीपुरी तथा सेकुवा व्यवसायीलाई लक्षित गरी व्यावसायिक स्वच्छता तथा खाद्य सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

शाखा प्रमुख मोहनसिंह सुनारको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डीसीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वडा नम्बर १५ भित्र सञ्चालनमा रहेका चाट, चटपटे, पानीपुरी तथा सेकुवा व्यवसायसँग सम्बन्धित ४५ भन्दा बढी व्यवसायीको सहभागिता रहेको थियो।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख खाद्य निरीक्षण अधिकृत पदम बराल, घोराही उपमहानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारी, उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहनसिंह सुनार तथा कृष्णसेन बहुप्राविधिक शिक्षालय घोराही, दाङका प्रशिक्षक सोनम आचार्यले प्रशिक्षण प्रदान गरेका थिए।
प्रशिक्षकहरूले खाद्य स्वच्छता, व्यावसायिक स्वच्छता तथा मापदण्ड, सरसफाइ व्यवस्थापन, व्यवसाय सञ्चालनका चुनौती तथा सम्भावनालगायतका विषयमा सहभागी व्यवसायीलाई जानकारी गराएका थिए।

उपभोक्ता हित संरक्षण शाखाका सहायक तथ्यांक अधिकृत सागर सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शाखाका सहायक केमिस्ट गणेश रेग्मीले गरेका थिए।
यससँगै घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले वडा नम्बर १४, १५ र १८ मा सञ्चालनमा रहेका चाट, चटपटे तथा सेकुवा व्यवसायीलाई लक्षित दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ।
उपमहानगरपालिकाले अब यस्ता व्यवसायलाई लक्षित गरी अनुगमन कार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने जनाएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस