पूर्वगृहमन्त्री सुधन गुरूङमाथि उठेका प्रश्नका सम्बन्धमा छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री बालेन शाहलाई प्रतिवेदन बुझाएको छ।
सेयर लगानी र अन्य सम्पत्तिको स्रोतमाथि उठेका प्रश्नबारे छानबिन गरेको उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी नेतृत्वको समितिले शुक्रबार प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको हो।
उक्त समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए।
यो समितिले ४५ पेजको प्रतिवेदन तयार पारेको सहन्यायाधिवक्ता नेउपानेले बताए।
यो ४५ पेजमा तथ्यको विश्लेषण, निष्कर्ष र सुझावलाई समेटिएको पनि उनले जानकारी दिए।
‘हामीले सुधन गुरूङमाथि उठेका प्रश्नबारे तथ्यगत विश्लेषण गरेका छौं। त्यसमा आवश्यक प्रमाणहरू पनि राखेका छौं। निष्कर्ष पनि राखेका छौं र अन्तिममा के गर्नुपर्छ भनेर सरकारलाई बुँदागत रूपमा सुझाव पनि दिएका छौं,’ उनले भने।
समितिले ४५ पेजबाहेक बयान, बयान कागज, विभिन्न कागजातहरू छुट्टै बुझाएको छ। वैशाख २३ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको थियो।
समितिले प्रतिनिधि सभा सदस्य एवं पूर्वगृहमन्त्रीसँग सम्बन्धित उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गर्न भनेको हो। समितिलाई सुरूमा १५ दिनको समय दिइएको थियो।
समितिले यो समयावधिमा छानबिन सके पनि प्रतिवेदन लेखनका लागि पनि समय अपुग भएपछि सरकारसँग थप समय मागेको थियो। पछिल्लो समय ५ दिन म्याद थपेपछि छानबिन सकेर प्रतिवेदन बुझाएको हो।
गत वैशाख ९ गते गुरूङले आफूमाथि प्रश्न उठेको भन्दै पदबाट राजीनामा दिएका थिए। सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि हिरासतमा रहेका दिपक भट्टसँग व्यावसायिक साझेदारी देखिएपछि विवादमा परेका हुन्।
उनले आफू पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भनेर राजीनामा दिएको बताएका थिए।


