काठमाडौं, बैशाख २७ । काठमाडौं उपत्यकाका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित ११० जनालाई काभ्रेको बनेपा–६ स्थित नेपाल रेडक्रस सोसाइटीको प्रशिक्षण केन्द्रमा ल्याएर राखिएको छ। थापाथली, गैरीगाउँ, मनोहरा, शंखमूल, बोक्सीघाट र प्रयागघाट लगायतका क्षेत्रबाट हटाइएका उनीहरू अहिले बनेपास्थित होल्डिङ सेन्टरमा बसिरहेका छन्। पटक–पटक स्थान परिवर्तन गर्नुपर्दा उनीहरू चिन्तित बनेका छन्। सरकारबाट खान र बस्ने व्यवस्था भए पनि रोजगारी, दैनिक गुजारा र बालबालिकाको पढाइको समस्या झन् बढ्दै गएको उनीहरूको गुनासो छ। विस्थापितहरूले सरकारले स्थायी बसोबास र रोजगारीको व्यवस्था मिलाइदिनुपर्ने माग गरेका छन्।
प्रयागघाटका टेकबहादुर थापाले आफूहरूलाई खानाभन्दा स्थायी बसोबासको समस्या ठूलो भएको बताए। माछापोखरीस्थित होटलमा ११ दिन बिताएर बनेपा पुगेका उनले बारम्बार स्थान सार्नुको सट्टा सरकारले बस्ने निश्चित ठाउँको व्यवस्था गर्नुपर्ने बताए। त्यस्तै, ३० वर्षदेखि थापाथलीमा बस्दै आएकी धनुषाकी बीमा देवी झाले सरकारले छिट्टै छानबिन गरी गरिब तथा सुकुमवासीहरूको उचित व्यवस्थापन गर्नुपर्ने माग गरिन्। मनकुमारी सार्कीले भने विस्थापनसँगै आफ्नो रोजगारी गुमेको बताइन्। उनी ठेकेदारमार्फत कुचो लगाउने र फूल गोड्ने काम गर्दै आएकी थिइन्। बनेपाबाट काठमाडौं आउजाउ गर्न समय र खर्च दुवै बढी लाग्ने भएकाले काममा फर्किन नसकेको उनले बताइन्।
थापाथलीमा बस्दै आएकी २० वर्षीया अञ्जलीकुमारी महतोको पीडा झन् मार्मिक छ। वैशाख १२ गते बस्तीमा डोजर चलेपछि उनी बालाजुको होल्डिङ सेन्टर पुर्याइएकी थिइन्। त्यहीँ पुगेपछि सुत्केरी व्यथा लागेपछि परिवारले अस्पताल लगेको र वैशाख १४ गते छोरी जन्मिएको उनले बताइन्। अप्रेशनपछि पनि बारम्बार स्थान सार्नुपर्दा घाउ दुख्ने र नवजात शिशुको स्याहार गर्न कठिन भएको उनको गुनासो छ। पर्याप्त स्तनपान हुन नसक्दा बच्चाको स्वास्थ्यप्रति समेत चिन्ता बढेको उनले बताइन्।
बनेपाको होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरू पढाइ छुटेको भन्दै चिन्तित छन्। केन्द्रमा रहेका ११० जनामध्ये २८ जना विद्यार्थी रहेका छन्। नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय भर्ना र अध्ययनको टुंगो नलागेको उनीहरूको गुनासो छ। गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा कक्षा–३ मा अध्ययनरत राधिका महतोले विद्यालय खुले पनि पढ्न नपाएको बताइन्। १३ वर्षीय रोहन परियारले पटक–पटक स्थानान्तरण गर्दा पढाइ बिग्रिएको भन्दै जहाँ राखे पनि पढ्ने व्यवस्था गरिदिन सरकारसँग आग्रह गरे। हाल होल्डिङ सेन्टरमा १४ दिनको शिशु, बौद्धिक अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीन र ज्येष्ठ नागरिकसहित विभिन्न उमेर समूहका विस्थापितहरू बसिरहेका छन्।