रोल्पा, वैशाख १८ । रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप हिजो दुर्घटना हुँदा मृत्यु भएका २० जनाको पहिचान खुलेको छ। दुर्घटनामा घाइते भएका एक जना उपचारपछि घर फर्किएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार जिपमा सवार सबै यात्रु रुकुम पूर्वबाट आएका भए पनि मृतकमध्ये केही रुकुम पूर्वका र केही दाङ जिल्लाका रहेका छन्। प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुनिल थापा नेपालीका अनुसार रुकुम पूर्व, सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीया सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकीको मृत्यु भएको छ।
त्यसैगरी दाङ, घोराही उपमहानगरपालिका–१५ रतनपुरका ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीया जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जिसी, ७ वर्षीय संयोग जिसी तथा उमेर नखुलेका यमबहादुर जिसी र घोराही–१३ का धनमाया बिष्ट पनि मृतकमध्ये परेका छन्।
यस्तै, दाङकै शान्तिनगर गाउँपालिकाका स्थायी बासिन्दा भई हाल सिस्ने–५ मा बसोबास गर्दै आएका ४२ वर्षीय सवारी चालक बेदु कामी, सिस्ने–५ की ६० वर्षीया मीना कमिनी र ६० वर्षीया लक्ष्मी शाह तथा रुकुम पूर्व, भुमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेत र सिस्ने–५ कै २७ वर्षीया रुपमिना बस्नेतको पनि दुर्घटनामा ज्यान गएको छ।
घटनास्थल दुर्गम र पहरायुक्त भएकाले शव संकलन कार्यमा ढिलाइ भएको प्रहरीले जनाएको छ।


