राेल्पा, सुकिदह युवा क्लबको सातौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

राेल्पा, चैत २८ । परिवर्तन गाउँपालिका–६ नाफेस्थित सुकिदह युवा क्लबको सातौँ वार्षिकोत्सव तथा उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। क्लबका अध्यक्ष मनोज बुढा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन ‘सिजन’ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगर विशिष्ट अतिथि रहेका थिए भने पूर्व सहायक राज्यमन्त्री तथा महिला नेतृ भीमकुमारी बुढा मगर, वडा नं. ६ का अध्यक्ष भरतकुमार बुढामगरलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी, पत्रकार, आमा समूहका प्रतिनिधि तथा सहयोगी दाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सो अवसरमा बोल्दै नेतृ भीमकुमारी बुढा मगरले संघीय संरचना कार्यान्वयनसँगै सुकिदह युवा क्लब स्थापना भएको उल्लेख गर्दै यसअघि आफूहरू लालीगुराँस युवा क्लबमा आबद्ध रहेको बताइन्। उनले नाफे क्षेत्रमा अवस्थित ‘सुकिदह’ नामक दहबाट क्लबको नामाकरण गरिएको जानकारी दिँदै उक्त स्थान धार्मिक तथा पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण रहेको उल्लेख गरिन्। क्लबले खेलकुद र सांस्कृतिक गतिविधिसँगै सामाजिक तथा सिर्जनात्मक कार्य गर्दै आएको र क्षेत्रका उत्कृष्ट क्लबमध्ये एकका रूपमा स्थापित भएको धारणा उनले व्यक्त गरिन्।

त्यसैगरी गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगरले क्लबले खेलकुद र सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताउँदै स्थानीय तहले आवश्यक सहयोग निरन्तर गर्दै आएको र आगामी दिनमा पनि सहयोग रहने प्रतिबद्धता जनाए। उनले निर्माणाधीन भवन र खेलमैदान विकासका लागि पहल भए गाउँपालिकाले सहकार्य गर्ने पनि स्पष्ट पारे। साथै, शिक्षा र खेलकुद क्षेत्रमा गरिएको लगानी तथा स्थानीय तहका गतिविधिबारे समेत जानकारी गराए।

प्रमुख अतिथि दीपेन्द्रकुमार पुन ‘सिजन’ले आफूलाई निमन्त्रणा गरिएकोमा आभार व्यक्त गर्दै युवा क्लबहरूले खेलकुदसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले लागू पदार्थ दुर्व्यसन नियन्त्रण, सामाजिक सचेतना अभिवृद्धि र समुदायसँगको सहकार्यमा क्लबहरूको भूमिका महत्वपूर्ण रहने बताए। अधुरो भवन निर्माण कार्य सम्पन्न गर्न आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले क्लबलाई समुदायको साझा संस्था बनाउँदै अगाडि बढाउन आग्रह गरे। साथै, बदलिँदो जीवनशैली र खानपानका कारण स्वास्थ्यमा देखिएका समस्याप्रति सचेत रहनुपर्नेमा पनि उनले जोड दिए।

अन्य वक्ताहरूले समेत पर्याप्त पूर्वाधार नभए पनि क्लबले निरन्तर रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको प्रशंसा गर्दै आगामी दिनमा प्रदेशदेखि स्थानीय तहसम्मका सरोकारवालाबाट थप सहयोग हुने विश्वास व्यक्त गरे।

कार्यक्रम क्लबका सदस्य किरण महरको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन सचिव सुनिल बुढा मगरले गरेका थिए। समारोह सभ्य र व्यवस्थित रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस