राेल्पा, चैत्र २३ । रोल्पा जिल्लामा धुम्रपान, सुर्ती सेवन तथा लागूपदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धी समुदायस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा परिवर्तन गाउँपालिका–१ कुरेलीमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम वडा नम्बर १ का अध्यक्ष मैते बुढा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रहरी चौकी कुरेलीका इन्चार्ज रामलाल चौधरी, परिवर्तन गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक नन्दा बुढा, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, आमा समूह, विद्यार्थी, कर्मचारी तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा जिल्ला अस्पताल रोल्पाका जनस्वास्थ्य अधिकृत दिल्ली केसीले सहजीकरण गर्दै धुम्रपान, सुर्ती सेवन तथा लागूपदार्थको प्रयोगले पार्ने नकारात्मक प्रभाव, यसको प्रयोगका कारणहरू तथा नियन्त्रणका उपायबारे विस्तृत जानकारी दिएका थिए। उनले विशेषगरी किशोरावस्थामा यस्ता बानीको सुरुवात हुने भएकाले यस उमेर समूहलाई सचेत गराउनु अत्यन्त आवश्यक रहेको बताए। साथै २० वर्ष मुनिका बालबालिकालाई यस्ता वस्तु खरिद गर्न नपठाउन र उनीहरूलाई यस्ता दुर्व्यसनबाट टाढा राख्न अभिभावकलाई आग्रह गरे।
त्यसैगरी, युनिटी क्लबका अध्यक्ष अनिल खत्रीले दुर्व्यसनलाई पूर्ण रूपमा नियन्त्रण गर्न कठिन भए पनि यसको प्रयोगलाई न्यूनिकरण गर्न सकिने बताए। उनले दर्ता तथा इजाजत प्राप्त व्यवसायीलाई मात्र बिक्री गर्ने व्यवस्था हुनुपर्ने र बालबालिकालाई यस्ता वस्तु बिक्री नगर्न कडाइ गर्नुपर्नेमा जोड दिए। साथै अभिभावक, शिक्षक, आमा समूह, टोल विकास संस्था तथा युवा क्लबहरूले जनचेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश फैलाउनुपर्ने उल्लेख गरे।
कार्यक्रममा वडा अध्यक्ष मैते बुढा मगरले यस्ता कार्यक्रम पहिलोपटक आफ्नो वडामा आयोजना भएको उल्लेख गर्दै आगामी दिनमा युवापुस्तालाई दुर्व्यसनबाट टाढा राख्न जनचेतनामूलक गतिविधि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सहजीकरण स्वास्थ्य चौकी कुरेलीका सूचना अधिकारी प्रविनकुमार बुढा मगरले गरेका थिए।


