युनिटी युवा क्लब रोल्पाको छैठौँ अधिवेशन सम्पन्न अध्यक्षमा अनिल खत्री निर्वाचित

रोल्पा, चैत २१ — परिवर्तन गाउँपालिका–१, कुरेलीस्थित युनिटी युवा क्लबको छैटौँ अधिवेशन तथा एघारौँ साधारण सभा सम्पन्न भएको छ। अधिवेशनबाट अनिल खत्रीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा मनिषा रोका मगर, सचिवमा विशाल बुढा मगर, कोषाध्यक्षमा सुशीला पुन मगर, सहसचिवमा सुनिल बुढा मगर, सह–कोषाध्यक्षमा सुरक्षा रोका मगर तथा सदस्यहरूमा सुशील सुनार, अमिता सुनार र केशबहादुर बुढा मगर चयन भएका छन्। साथै, पहिलो बैठकबाट थप ४ जना सदस्य मनोनयन गरिने जनाइएको छ।

कार्यक्रम वडा नं. १ का अध्यक्ष मैते बुढा मगरको प्रमुख आतिथ्यता तथा सल्लाहकार समिति संयोजक एवं निवर्तमान वडा अध्यक्ष बमबहादुर पुन विक्रमको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सल्लाहकार तथा पूर्व पदाधिकारीहरू, स्थानीय संघ–संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नव–निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै वक्ताहरूले क्लबले सामाजिक विकास, युवा एकता र समुदायको उन्नयनमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले क्लबले स्थापना कालदेखि विभिन्न चुनौतीहरू पार गर्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमको सुरुवात केशबहादुर बुढा मगरको स्वागत मन्तव्यबाट भएको थियो भने सञ्चालन सचिव सविन वलीले गरेका थिए। कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष निशा रोका मगर र संगठनात्मक प्रतिवेदन सह–कोषाध्यक्ष बिराज रोका मगरले प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस