दाङमा कुटपिटपछि एक किशोर मृत, अर्का घाइते

दाङ , चैत २० । दाङको राप्ती गाउँपालिकामा कुटपिटपछि एक किशोर मृत फेला परेका छन् भने अर्का एक घाइते भएका छन्। राप्ती गाउँपालिका–२ बह्राखुट्टी निवासी १७ वर्षीय स्मिथ प्रधान मृत अवस्थामा फेला परेका हुन्।

गएराति करिब ८ बजे राप्ती गाउँपालिका–१ पाँखापानीका १६ वर्षीय आयुशमान थापा मगर र स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए। उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि २ महिला र २ पुरुष अपरिचित व्यक्तिहरूले एक्कासी कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट आयुशमान थापा मगरको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको छ। घटनापछि उनी राति करिब ३ बजे मौरीघाटस्थित आफ्नी दिदीकी साथी गंगा रोकाको घर पुगेका थिए। त्यसपछि उनलाई उपचारका लागि राप्ती आधारभूत अस्पताल, सिसहनिया लगिएको थियो। हाल उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय, सिसहनियामा जानकारी पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। घाइते आयुशमानसँग सोधपुछ गर्दा सुरुमा केही नबताए पनि पछि उनीसँगै स्मिथ प्रधान रहेको बताएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय, भालुवाङबाट प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा थप टोली परिचालन गरिएको थियो।

खोजतलासका क्रममा घटनास्थलदेखि करिब १.५ किलोमिटर पूर्वतर्फ दोलई खोलाको सुख्खा नालामा टाउकोमा चोट लागेको अवस्थामा स्मिथ प्रधान मृत फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा आफन्तहरू समेत पुगिसकेका छन् भने कुटपिटमा संलग्न व्यक्तिहरू फरार रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार आयुशमानलाई ‘देबीसरा गाहा’ र ‘स्वस्तिका रानामगर’ नामबाट फेसबुक मेसेन्जरमार्फत भेट्न बोलाइएको र त्यसपछि उनीहरू घरबाट निस्किएको बुझिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस