रोल्पा, चैत २० परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बैसाख ३ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ। समितिले सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगिता बैसाख ३ देखि ५ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको उद्घाटन कार्यक्रम बैसाख ३ गते बिहान ९ बजे शहीद स्मृति रंगशाला, थामाचौरमा हुने तय गरिएको छ। उक्त प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न विद्यालयका छात्र–छात्राहरूको सहभागिता रहनेछ।
प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर दौड, रिले दौड, लङजम्प, हाइजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो र सटपुट लगायतका खेलहरू समावेश गरिएका छन्। साथै भलिबल र कबड्डी जस्ता टिम खेलहरू पनि सञ्चालन गरिने बताइएकाे छ।
कार्यतालिका अनुसार बैसाख ३ गते बिहान ७ बजेदेखि विभिन्न दौड तथा फिल्ड इभेन्टहरू सुरु हुनेछन् भने दिउँसोदेखि टिम खेलहरू सञ्चालन गरिनेछन्। बैसाख ४ गते बिहानदेखि पुनः एथलेटिक्स तथा भलिबल/कबड्डीका खेलहरू जारी रहनेछन्। बैसाख ५ गते रिले दौडसहित बाँकी खेलहरू सम्पन्न गरिनेछन्।
समितिले खेलाडीहरूलाई समयतालिका अनुसार कम्तीमा १५ मिनेट अगावै उपस्थित हुन आग्रह गरेको छ। प्रतियोगितामार्फत विद्यार्थीहरूमा खेलकुदप्रति रुचि अभिवृद्धि गर्ने, प्रतिभा पहिचान गर्ने तथा स्वस्थ प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने उद्देश्य रहेको बताइएको छ।
खेलकुद विकास समिति अध्यक्ष गगन बुढा बुढामगरले प्रतियोगिता सफल बनाउन सबै सरोकारवालासँग सहकार्यको अपेक्षा गरिएको बताएका छन्।


