दाङमा एसइईमा करिब १४ हजार विद्यार्थी सहभागी हुँदै

दाङ, १८ चैत । दाङमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १३ हजार ९ सय ९८ जना विद्यार्थी सहभागी हुने भएका छन्। जिल्लाका २ सय ६९ विद्यालयबाट विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्।

चैत १९ गतेदेखि सुरु हुने परीक्षाका लागि ४४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। कुल सहभागीमध्ये ६ हजार ६ सय १८ जना छात्र र ७ हजार ३ सय ८० जना छात्रा रहेका छन्।

गत वर्षको तुलनामा यस वर्ष २ सय ५६ जना विद्यार्थी घटेका छन् भने ३ वटा परीक्षा केन्द्र पनि कम गरिएको छ। यद्यपि विद्यालयको सङ्ख्या भने बढेको छ।

परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जनाइएको छ। करिब १ हजार १० जना कर्मचारी परिचालन गरिनेछ भने प्रत्येक केन्द्रमा १० देखि १५ जनासम्म सुरक्षाकर्मी खटाइने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस