राप्ती साहित्य परिषद् दाङद्वारा चैत २१ मा स्रष्टा सम्मान तथा साहित्यिक कार्यक्रम आयोजना

दाङ, चैत १७ । विगतका वर्षहरूझैँ यस वर्ष पनि राप्ती साहित्य परिषद् दाङ शाखाले यही चैत २१ गते शनिबार पत्रकार महासङ्घ दाङको सभाहलमा स्रष्टा सम्मान, पुरस्कार समर्पण, साधारण सभा तथा विविध साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ।

परिषद्ले २०८२ सालका लागि विभिन्न विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट डा. टीकाराम उदासी, कृष्ण–गायत्री प्रज्ञा पुरस्कारबाट हरि पोख्रेल, नेत्रमोहनादेवी साहित्य पुरस्कारबाट दिल्लीराज श्रीधर तथा वेदप्रसाद जयश्वरी–रावत स्मृति पुरस्कारबाट खगेश्वर भण्डारीलाई पुरस्कृत गरिने भएको छ।

त्यसैगरी, यस वर्ष पनि विगतका वर्षहरूझैँ साहित्यकार तथा लेखक गुरुप्रसाद शर्मा रेग्मीलाई सम्मान गरिनेछ। साथै, पुरस्कार संस्थापकका तर्फबाट देवप्रसाद जयश्वरी–रावत स्मृति पुरस्कारका संस्थापक लालबहादुर आरसीलाई पनि सम्मान गरिने परिषद्ले जनाएको छ।

उक्त पुरस्कारका लागि प्रतिभा छनोट समिति गठन गरिएको थियो। समितिको संयोजकमा राप्ती साहित्य परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ रहनुभएको थियो भने सदस्यहरूमा केन्द्रीय सचिव शारदा शर्मा र जिल्ला शाखा दाङका निवर्तमान सचिव प्रकाश केसी रहनुभएको थियो।

कार्यक्रमकै अवसरमा विविध साहित्यिक प्रस्तुति समेत गरिने राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८२ चैत्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस