एमालेका अध्यक्ष पक्राउको बिरोधप्रति आपत्ति जनाउँदै एमाले रोल्पाद्वारा ज्ञापनपत्र पेश

रोल्पा, चैत १५। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको बिरोधमा आइबार नेकपा (एमाले) जिल्ला कमिटी रोल्पाले ज्ञापनपत्र बुझाएको छ। आइतवार प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री लाई पार्टीका नेता तथा कार्यकर्ताले उक्त ज्ञापनपत्र बुझाएका हुन्।

जिल्ला प्रशासन कार्यालय रोल्पामार्फत प्रधानमन्त्रीलाई पठाइएको उक्त ज्ञापनपत्रमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक प्रति गरिएको कारबाहीप्रति आपत्ति जनाइएको छ। एमाले रोल्पाले उक्त कदमलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही तथा गैरकानुनी भएको उल्लेख गर्दै यसले लोकतान्त्रिक मूल्य र विधिको शासनमा गम्भीर असर पारेको जनाएको छ।

त्यसैगरी, भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा भएको जनधनको क्षतिको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिएको छ। पार्टीले छानबिन आयोगको भूमिकामाथि प्रश्न उठाउँदै पूर्वाग्रहपूर्ण निर्णयले राजनीतिक वातावरण थप तनावपूर्ण बन्न सक्ने चेतावनी दिएको छ।

जिल्ला कमिटी अध्यक्ष अमृत बहादुर बुढामगर द्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा कानुनी प्रक्रिया, निष्पक्षता र पारदर्शिता कायम गर्न सरकारसँग आग्रह गरिएको छ। साथै दोषीमाथि निष्पक्ष अनुसन्धान गरी कारबाही गर्नुपर्नेमा जोड दिँदै मागहरू बेवास्ता गरिए आन्दोलनका कार्यक्रम अघि बढाइने संकेत समेत गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस