दाङमा क्षयरोग नियन्त्रण अभियान तीव्र, ८ महिनामा ८७६ बिरामी फेला

दाङ, चैत्र १० । नेपाल सरकारले सञ्चालन गर्दै आएको ‘टिबी फ्रि अभियान’ अन्तर्गत क्षयरोग (TB) नियन्त्रण तथा न्यूनीकरणका प्रयासहरू दाङ जिल्लामा तीव्र रूपमा अगाडि बढिरहेका छन्। अभियानको उद्देश्य नयाँ संक्रमित पहिचान गरी संक्रमण दर घटाउने, मृत्यु दर कम गर्ने, बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउने तथा सन् २०३५ सम्म क्षयरोग अन्त्य र सन् २०५० सम्म पूर्ण निवारण गर्ने रहेको छ।

स्वास्थ्य कार्यालय दाङका अनुसार यसै अभियानअन्तर्गत दाङ जिल्लाका तुलसीपुर उपमहानगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकामा ‘टिबी फ्रि पालिका’ कार्यक्रम सञ्चालनमा रहेको छ। देशभर १०५ वटा जीनएक्सपर्ट (GeneXpert) परीक्षण केन्द्रमध्ये दाङमा ३ वटा रहेका छन्। त्यसैगरी, देशभर रहेका ८९६ माइक्रोस्कोपी केन्द्रमध्ये दाङमा २० वटा, ५९७१ DOTS केन्द्रमध्ये ५० वटा तथा ८१ DR-TB उपचार केन्द्रमध्ये १ वटा दाङमा सञ्चालनमा रहेका छन्।

दाङमा चार वर्षको बिरामी तथ्यांक

पालिकागत रूपमा पछिल्ला तीन आर्थिक वर्षमा क्षयरोगीहरूको संख्या फरक–फरक देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा जिल्लाभर १२९३ जना बिरामी दर्ता भएका थिए। आर्थिक वर्ष २०८०/८१ मा यो संख्या बढेर १४१५ पुगेको थियो भने २०८१/८२ मा १२९१ जना बिरामी दर्ता भएका थिए।

त्यसैगरी, चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको ८ महिनामा ८७६ जना क्षयरोगी फेला परेका छन्।

एचआईभी सह–संक्रमण अवस्था

क्षयरोग परीक्षणका क्रममा एचआईभी संक्रमण पनि केही बिरामीमा देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा १४१५ परीक्षणमध्ये ३ जनामा, २०८१/८२ मा १२९२ परीक्षणमध्ये ३ जनामा तथा २०८२/८३ मा ८७६ परीक्षणमध्ये २ जनामा एचआईभी संक्रमण पुष्टि भएको छ। यस्ता बिरामीहरूले हाल क्षयरोग र एचआईभी दुवैको औषधि सेवन गरिरहेका छन्।

उपचार सफलता दर

आर्थिक वर्ष २०८१/८२ मा दाङ जिल्लामा ९५ प्रतिशत सफलता दर रहेको छ।

तर आर्थिक वर्ष २०८२/८३ मा फागुन मसान्तसम्ममा केही स्थानमा सफलता दर घटेको देखिन्छ। जस अन्तरगत दाङ जिल्लामा ८६.७८ प्रतिशत सफलता दर कायम रहेको छ।

पोषण भत्ता कार्यक्रम

क्षयरोगीहरूको उपचारलाई प्रभावकारी बनाउन पोषण भत्ता कार्यक्रम सञ्चालनमा रहेको छ। पुनः उपचारमा रहेका PBC तथा PCDEP समूहका बिरामी र गरिब तथा असहाय बिरामीहरूलाई उपचार अवधिभर मासिक ५०० रुपैयाँ उपलब्ध गराइँदै आएको छ। साथै, औषधि प्रतिरोधी (DR-TB) बिरामीलाई मासिक १००० रुपैयाँ (हास्टेलमा बस्ने) र ३००० रुपैयाँ (घरमै उपचार गर्ने) भत्ता प्रदान गरिँदै आएको छ।

सचेतना र सावधानी

स्वास्थ्य कार्यालय दाङले विश्व क्षयरोग दिवसका अवसरमा घोराहीमा आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार धुम्रपान, मद्यपान, लागुऔषध सेवन गर्ने र दीर्घरोगीहरू क्षयरोगको उच्च जोखिममा रहेका छन्। जिल्लाका घोराही, तुलसीपुर र लमहीमा निःशुल्क परीक्षण सुविधा उपलब्ध छ भने ५० भन्दा बढी केन्द्रबाट बिरामीहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ।

चिकित्सकहरूले नियमित औषधि सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने भएकाले लक्षण देखिएमा तुरुन्त परीक्षण गराउन र उपचारलाई निरन्तरता दिन आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस