लुम्बिनी प्रदेशस्तरीय महोत्सव घोराहीमा सुरु

घोराही, २८ फागुन । घोराहीमा लुम्बिनी प्रदेशस्तरीय महोत्सव आजदेखि सुरु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ, जिल्ला शाखा दाङको आयोजनामा फागुन २८ गतेदेखि चैत १५ गतेसम्म सञ्चालन हुने ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव–२०८२’ एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्नुभएको थियो। ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवको उद्घाटन गर्दै मन्त्री न्यौपानेले सरकार र निजी क्षेत्र मिलेर उद्यमशीलताको विकासमा काम गरिरहेको बताउनुभयो। साना तथा घरेलु उद्योगले उत्पादन गरेका वस्तुले पर्यटकलाई आकर्षित गर्न सक्ने भएकाले उत्पादनलाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्ने उहाँको भनाइ थियो। आर्थिक रूपान्तरणका लागि युवालाई घरेलु तथा साना उद्योगसँग जोडेर अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो।

उहाँले लुम्बिनी प्रदेश सरकारले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै सरकारी र निजी क्षेत्रको सहकार्यमा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभयो।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष लव अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा महासंघका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंहले स्थानीय सरकारले घरेलु तथा साना उद्योगलाई थप प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले करको दायरा घटाउनेदेखि लगानी सुरक्षित बनाउँदै उद्यमीलाई उत्प्रेरणा दिनुपर्ने आवश्यकता रहेको छ। साथै स्थानीय उत्पादनमा आधारित साना तथा घरेलु उद्योगतर्फ युवाको आकर्षण बढाउन सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो।

घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि उपमहानगरपालिकाले प्रयास गरिरहेको बताउनुभयो। कृषि तथा उद्यमशीलतामा देखिने बिचौलिया प्रवृत्ति हटाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेशप्रसाद अधिकारी, महिला उद्यमी समितिका केन्द्रीय उपाध्यक्ष शान्ति शर्मा, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम लमहीका प्रमुख कोमल शाही, महासंघ दाङका पूर्वअध्यक्ष किरणकुमार रेग्मी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, सल्लाहकार शरद अधिकारी, तुलसीपुर नगर अध्यक्ष लालबहादुर केसी, रोल्पाका अध्यक्ष मिलन डाँगी, पाल्पाका अध्यक्ष कमल ढकाल, नेपाल ज्योतिष परिषद् दाङका उपाध्यक्ष पदम बस्नेत तथा रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

स्थानीय घरेलु तथा साना उद्योग तथा स्थानीय उत्पादनको प्रवर्द्धन र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको उद्घाटन अवसरमा सन् २०५० सम्मको दाङको परिकल्पना समेटिएको वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो।

महोत्सव उद्घाटनअघि घोराहीमा झाँकीसहितको शोभायात्रा निकालिएको थियो। घोराहीको लखन पार्कबाट सुरु भएको र्‍यालीले बजार परिक्रमा गर्दै महोत्सवस्थलसम्म पुगेको थियो। र्‍यालीमा विभिन्न जातजाति, भेषभूषा, कला र संस्कृतिलाई झल्काउने झाँकीहरू समावेश गरिएको थियो।

महोत्सवमा आइफिल टावर, युरोपियन स्ट्रिट, लन्डन ब्रिज, बाल उद्यान, जलपरी र सिंहदरबारलगायतका संरचना आकर्षणका रूपमा राखिएका छन्।

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सवमा बद्री पंगेनी, राजु परियार, ज्योति मगर, दुर्गेश थापा, कमल गाउँले, एलिना चौहान, टंक तिमिल्सिना, शान्तिश्री परियार, अर्जुन सापकोटा, प्रीति आले, चक्र बम, रचना रिमाल, प्रताप दास, शान्तारानी परियार, भूमिका गिरी, जी–बब, टीका सानु, सञ्जना श्रेष्ठ, प्रीति पासवान, अञ्जु कुश्मी, राज कुश्मी, सोनी कुश्मी, श्याम राना र कमल बिसीलगायतका कलाकारहरूको प्रस्तुति रहने मूल आयोजक समितिले जानकारी दिएको छ।

स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सवमा कविता, बाल चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता पनि सञ्चालन गरिनेछ।

त्यसैगरी महोत्सव अवधिभर रोजगार तथा सीप विकास, स्वास्थ्य, युवा, कृषि तथा पशुपालन, स्थानीय कला–संस्कृति तथा पर्यटन, औद्योगिक विकास र स्थानीय उत्पादन, महिला उद्यमशीलता, शिक्षा तथा बालबालिका, उद्यमशीलता र सूचना प्रविधि तथा शान्ति र सामाजिक सद्भाव विषयक विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका निवर्तमान अध्यक्ष प्रदीप मज्गैयाँको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जगदीश भण्डारी र आर.के. शीतलले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस