रोल्पा, फागुन २७ । परिवर्तन गाउँपालिका–१ कुरेलीमा १६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विविध कार्यक्रमका साथ कार्यक्रम सम्पन्न भएको छ।
वडा कार्यपालिका सदस्य जुनुकुमारी बुढामगरको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. १ का अध्यक्ष मैते बुढामगर प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमका अवसरमा प्राथमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो। साथै महिला दिदीबहिनीहरूले आफ्ना विभिन्न कला तथा प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने सहभागीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण महिला दिदीबहिनीहरूलाई समेत सम्मानस्वरूप पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका वक्ताहरूले महिला अधिकार, सशक्तीकरण तथा समाजमा महिलाको भूमिकाबारे आफ्ना धारणा व्यक्त गरेका थिए। उनीहरूले महिला दिवस वर्षमा एक दिन मनाइने भए पनि महिलाको अधिकार र सम्मान सधैं कायम रहनुपर्ने बताएका थिए।
बुधवार सम्मन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस वडा इकाई सभापति धनप्रसाद रोकामगर, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य टेकेन्द्र जंग आरएम, नेपाल कम्युनिष्ट पार्टी वडा नं. १ का इन्चार्ज पूर्वे बुढामगर, बालकल्याण माध्यमिक विद्यालय उपाबाङ–कुरेलीका प्रधानाध्यापक पूर्णबहादुर वलीलगायत कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा गाउँ–टोलबाट आएका महिला दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष मैते बुढामगरले महिलाहरूलाई सशक्त बनाउने उद्देश्यले प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो। उहाँले महिलाहरू अब घरधन्दा मात्र सीमित नभई देश सञ्चालन गर्ने भूमिकामा समेत अग्रसर भइरहेको उल्लेख गर्दै महिलाहरूले समाजको अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने बताउनुभयो। साथै महिलामाथि हुने हिंसा, दुव्र्यवहार वा बलात्कारजस्ता घटनामा कानुन बमोजिम कडा कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रम वडा सदस्य मनसरा विकको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन वडा सचिव ज्वाला बुढामगरले गर्नुभएको थियो। कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।


