
घाेराही, फागुन २६ । दाङ क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यको आयोजनामा दाङको घोराहीमा मंगलबार ‘दाङका लागि दंगाली अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न संघ–संस्था, समिति, खेलकुद तथा शिक्षा क्षेत्र, नागरिक समाज, अपाङ्ग संघ, महिला संघलगायत दाङवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित सहभागीहरूले संस्थागत तथा व्यक्तिगत रूपमा नवनिर्वाचित सांसद आचार्यलाई सुझाव प्रस्तुत गर्नुका साथै क्षेत्रका विभिन्न समस्याबारे लिखित तथा मौखिक रूपमा जानकारी गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित सांसद आचार्यले दाङको विकासका लागि सबै दंगालीवासीको साझा जिम्मेवारी रहेको बताउनु भयाे। उहाँले आफ्नो कार्यकालमा दाङको समग्र विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अर्को कार्यकालमा जनतामाझ आउँदा निराशा वा अपेक्षाअनुसार काम नभएको भन्ने गुनासो नआउने गरी अघि बढ्ने बताउनु भयाे।
उहाँले भन्नु भयाे “यो पटक जनताले दिएको घण्टी बजाउने अवसरलाई सही रूपमा प्रयोग गर्न सकेनौँ भने अर्को पटक त्यही घण्टीले जनप्रतिनिधिलाई बजाउनु हाेला।”
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट घोराही क्षेत्र नं. २ बाट निर्वाचित भएपछि आचार्य हाल विभिन्न संघ–संस्था तथा दाङवासीसँग भेटघाट गर्दै आगामी योजनाबारे सुझाव तथा गुनासा सुन्दै आएका छन्।

