दाउन्नेमा पाँच सवारीसाधन ठोक्किँदा ८ जना घाइते

काठमाडौं, २७ फागुन।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्ने क्षेत्रमा पाँच वटा सवारीसाधन एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित घिउखोला नजिक गएराति कन्टेनरले एकतर्फी ओभरटेक गर्ने क्रममा पाँच वटा गाडी आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक युवराज खड्का ले जानकारी दिनुभयो।

दुर्घटनामा मोटरसाइकल चालक रास्कोटकालिकोट का अमर कार्की घाइते भएका छन्। मोटरसाइकलको पछाडि सवार सोही स्थानका महेन्द्र महतारा पनि घाइते भएका छन्।

त्यसैगरी बसमा सवार अन्य ६ जना यात्रु घाइते भएका छन्। घाइते हुनेहरूमा बस चालक शङ्कर विष्ट, मन्थलीरामेछाप का विनोदकुमार अछामी, लिवाङरोल्पा का उदीराम विष्ट, धरान का नाम्नुहाङ राई, रोल्पाकै दर्शन पोख्रेल, सुनसरी का चन्द्रसिंह थापा तथा स्वर्गद्वारीप्यूठान का यज्ञप्रसाद भुसाल रहेका छन्।

घाइते सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न कन्टेनरका चालक भने सम्पर्कविहीन रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस