
रोल्पा, फागुन १४ । सुनछहरी गाउँपालिकाले ४४औँ मगर स्थापना दिवस (राष्ट्रिय मगर एकता दिवस) का अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँकार्यपालिकाको फागुन २३ गते बसेको बैठकको निर्णयअनुसार फागुन २३, २०८२ गते गाउँपालिकाभित्रका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा सार्वजनिक बिदा रहने जनाइएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्तीद्वारा जारी सूचनामा उक्त दिवसको अवसरमा मगर समुदायको पहिचान, संस्कृति र एकताको सम्मानस्वरूप सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ।
यस अवसरमा गाउँपालिकाले सम्पूर्ण सुनछहरीवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मगर समुदायप्रति हार्दिक शुभकामना व्यक्त गरेको छ।
रोल्पा जिल्लास्थित उक्त गाउँपालिकाले स्थानीय समुदायका सांस्कृतिक पर्व तथा ऐतिहासिक दिनलाई सम्मान गर्दै यस अवसरमा विभिन्न कार्यक्रमसमेत आयोजना गरिने जनाएको छ।
मगर स्थापना दिवस प्रत्येक वर्ष नेपालभर महत्वपूर्ण सांस्कृतिक दिवसका रूपमा मनाइँदै आएको छ।

