रोल्पा, फागुन १३ । परिवर्तन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, पुतलाचौर, रोल्पाले सवारी दुर्घटनामा एक जनाको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ।
मिति २०८२ फागुन १२ गते दाङको घोराहीबाट शहीद मार्ग हुँदै रोल्पाको परिवर्तन गाउँपालिका–६ स्थित बागमारा बजारतर्फ जाँदै गरेको लु १ ज ४८५४ नम्बरको बोलेरो जिप बिहान करिब ९ बजे रुन्टीगढी गाउँपालिका–५ र घोराही उपमहानगरपालिका–१९ को सिमानामा पर्ने खुम्बासमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परिवर्तन गाउँपालिका–६ निवासी विष्णुमाया बुढाको दुःखद निधन भएको गाउँपालिकाले जनाएको छ।
दुर्घटनामा चालक भरत वलीसहित प्रतिभा पुन, जुना वली, हिमानी ओली, खिमा केसी, पुष्पा बुढा, साइमन पुन, सुष्मा केसी, भिम राना र चाँदनी बुढा गम्भीर घाइते भएका छन्। घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको जनाइएको छ।

गाउँपालिकाले दुर्घटनामा परी ज्यान गुमाएकी विष्णुमाया बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
त्यसैगरी, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उचित उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। पहाडी क्षेत्रका सडकहरूको सुरक्षा सुदृढ गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि थप सतर्कता अपनाउन सम्बन्धित निकायलाई गाउँपालिकाले अनुरोध गरेको छ।
गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरद्वारा हस्ताक्षरित वक्तव्यमा यस दुःखद घटनाले सिंगो गाउँपालिका परिवारलाई अत्यन्तै मर्माहत बनाएको उल्लेख गरिएको छ।


