
रोल्पा, फागुन १३ । नेपाली कम्युनिष्ट पार्टी परिवर्तन गाउँ समिति, रोल्पाले सवारी दुर्घटनामा एक जनाको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ।
मिति २०८२ फागुन १२ गते घोराहीबाट शहीद मार्ग हुँदै रोल्पाको बागमारातर्फ जाँदै गरेको लु १ ज ४८५४ नम्बरको यात्रुवाहक बोलेरो जिप रुन्टीगढी गाउँपालिका–५ र घोराही उपमहानगरपालिका–१९ को सिमानामा पर्ने खुम्बास क्षेत्रमा आज बिहान करिब ९ बजे दुर्घटना भएको थियो। दुर्घटनामा परिवर्तन गाउँपालिका–६ निवासी विष्णुमाया बुढाको दुःखद निधन भएको जनाइएको छ।
दुर्घटनामा चालक भरत ओली सहित प्रतिभा पुन मगर, जुना ओली, हिमाली ओली, खिमा केसी, पुष्पा बुढा, साइमन पुन (मृतकका छोरा), सुष्मा केसी, भिमू राना र चाँदनी बुढा गम्भीर घाइते भएका छन्। घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचार भइरहेको बताइएको छ।

पार्टीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ। संयोजक हरि प्रसाद बुढा मगरद्वारा हस्ताक्षरित वक्तव्यमा यस दुःखद घटनाले सम्पूर्ण पार्टी पंक्तिलाई मर्माहत बनाएको उल्लेख गरिएको छ।

