रुकुम, फागुन १२ । नेपाली कम्युनिष्ट पार्टि जिल्ला कार्यालय रुकुम (पश्चिम) ले पार्टीका केही नेता तथा कार्यकर्तामाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला कार्यालयले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको हो।
विज्ञप्तिअनुसार पार्टीका जिल्ला स्तरका नेतामाथि यही फागुन ११ गते विभिन्न स्थानमा हातपात तथा दुर्व्यवहार भएको उल्लेख गरिएको छ। पार्टीले उक्त घटनालाई निन्दनीय र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत कार्य भन्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ।
जिल्ला कार्यालयले शान्ति–सुरक्षा कायम गर्न तथा राजनीतिक गतिविधि निर्वाध रूपमा सञ्चालन हुने वातावरण बनाउन प्रशासनसँग माग गरेको छ। साथै, घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन पनि जोड दिएको छ। पार्टीले आगामी दिनमा यस्ता गतिविधि दोहोरिए कडा प्रतिवाद गर्ने चेतावनीसमेत दिएको विज्ञप्तिमा उल्लेख छ।


