
रोल्पा, फागुन १२ । परिवर्तन गाउँपालिकाले शैक्षिक सत्र २०८२ का लागि वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। सार्वजनिक सूचनाअनुसार परीक्षा मध्यान्ह १२:०० बजेदेखि सञ्चालन गरिनेछ। गाउँपालिकाअन्तर्गत कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूका लागि छुट्टाछुट्टै विषयगत तालिका निर्धारण गरिएको छ। तालिकाअनुसार परीक्षा २०८२ साल चैत ५ गतेदेखि सुरु भई चैत १५ गतेसम्म सञ्चालन हुनेछ।
पहिलो दिन गणित विषयको परीक्षा सञ्चालन गरिनेछ भने त्यसपछि क्रमशः नेपाली, अङ्ग्रेजी, सामाजिक अध्ययन, विज्ञान तथा प्रविधिलगायतका विषयहरूको परीक्षा लिइनेछ। कक्षाअनुसार विषय व्यवस्थामा केही फरक व्यवस्था गरिएको जनाइएको छ। कक्षा ६, ७ र ८ मा ऐच्छिक तथा प्राविधिक विषयहरू समेत समावेश गरिएको छ। शनिबारबाहेक अन्य दिन नियमित रूपमा परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ।
सूचनामा आधारभूत तह (कक्षा ५) को परीक्षा अन्य कक्षाको समयतालिकासँग नजुध्ने गरी व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, कक्षा ECD, KG, १, २ र ३ का हकमा निरन्तर मूल्याङ्कन प्रणालीअनुसार मूल्याङ्कन गरिने भए पनि आवश्यक परे लिखित परीक्षा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ।
आन्तरिक परीक्षा समितिका अध्यक्ष डिल कुमार पुनको हस्ताक्षरसहित समयतालिका जारी गरिएको हो। गाउँपालिकाले सबै विद्यालय, अभिभावक तथा विद्यार्थीलाई तोकिएको समयअनुसार परीक्षा तयारीमा जुट्न अनुरोध गरेको छ।

