काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरबाट जारी विज्ञप्तिअनुसार साम्बाको एसीएलमा गरिएको शल्यक्रियापछि देखिएको समस्या तथा गम्भीर चोटका कारण थप जटिल शल्यक्रियाको तयारी भइरहेको जनाइएको छ।
उनको उपचारमा सहयोग पुर्याउनु सबैको कर्तव्य भएको कांग्रेसले उल्लेख गरेको छ। यस सम्बन्धमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचार कोषमा पार्टीका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
सोही प्रतिबद्धताअनुसार एन्फाको ग्लोबल आइएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको विज्ञप्तिमा उल्लेख छ। कांग्रेस सभापति शेरबहादुर देउवाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्याएकी चर्चित फुटबल खेलाडी ‘साम्बा’प्रति उच्च सम्मान व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
पार्टी र व्यक्तिगत तर्फबाट पनि आवश्यक सहयोग गर्न तत्पर रहेको जनाइएको छ। कांग्रेसले खेलकुद क्षेत्रलाई मनोरञ्जनभन्दा माथि उठाउँदै राष्ट्रिय पहिचान र राष्ट्र निर्माणमा युवा सहभागिताको मेरुदण्डका रूपमा अघि बढाउने संकल्प समेत व्यक्त गरेको छ।


