घोराही–१९ सैघामा नेकपाका उम्मेदवारलाई भव्य स्वागत, विकासमा ध्यान दिन स्थानीयको माग

घोराही, ११ फागुन । नेपाली कम्युनिस्ट पार्टी ले घोराही उपमहानगरपालिका–१९ सैघामा चुनावी सभा सम्पन्न गरेको छ।

पार्टीका वडा अध्यक्ष खड्ग बहादुर घर्ती को अध्यक्षतामा सम्पन्न सभामा निर्मल आचार्य (दाङ क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार) र भिम कुमारी बुढा (समानुपातिक उम्मेदवार) लगायत पार्टीका नेताकार्यकर्ता तथा स्थानीयबासीको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने स्थानीयले सैघा वडालाई घोराही नगरकै विकट वडाका रूपमा उल्लेख गर्दै विकास निर्माणमा विशेष ध्यान दिन माग गरेका छन्। स्थानीय सरकार गठन भएको लामो समय बितिसक्दा पनि वडामा पूर्ण विद्युतिकरण हुन नसकेको, सडक तथा यातायातको सहज व्यवस्था नहुँदा दैनिक जनजीवन प्रभावित भइरहेको उनीहरूको गुनासो थियो। आधारभूत पूर्वाधारको अभावले सेवा प्रवाहमा समस्या देखिएको भन्दै ठोस र दीर्घकालीन पहल गर्न उनीहरूले आग्रह गरे।

प्रत्यक्ष उम्मेदवार निर्मल आचार्यले वडाका विकाससम्बन्धी प्रमुख मागलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सडक, विद्युत्, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाको पहुँच सुनिश्चित गर्न विशेष पहल गरिने बताउनुभयो।

त्यसैगरी समानुपातिक उम्मेदवार भिम कुमारी बुढाले विकट क्षेत्रका महिला, दलित, जनजाति तथा विपन्न समुदायको हकअधिकार सुनिश्चित गर्न आफू निरन्तर अग्रसर रहने प्रतिबद्धता जनाउनुभयो। सैघाजस्ता वडामा शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर विस्तार गर्नु अपरिहार्य रहेको उहाँको भनाइ थियो।

सभामा उपस्थित स्थानीयले नेकपाका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता जनाएका थिए। नाचगानसहित उम्मेदवारलाई भव्य स्वागत गरिएको उक्त कार्यक्रमको सहजीकरण प्रेम घर्ती ले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस