सम्झनामा फागुन १, घोरदौरामा फायरिङ जुलुस

नेपालको जनयुद्धको लडाई उत्कर्षतिर लम्किरहेको थियो । सामन्ती प्रतिक्रियावादी सत्ता आफुनो लुटको स्वर्ग बचाउनको लागि देशी विदेशी सबै शक्तिहरु केन्द्रित भएर माओवादी जनयुद्धलाई दबाउन अन्तिम कसरतमा लागेको थियो । लडाई झन् पछि झन् एकदमै पेचिलो बन्दै गएको थियो । माओवादीका नाममा निहत्था, निर्दोष जनतालाई हत्या गर्ने, गिरफ्तार गर्ने, चरम यातना दिने लगायतका कार्यहरु राज्यको मेरुदण्ड मानिने शाही सेना अर्थात तत्कालिन सामन्ती सत्ताका नाइके ज्ञानेन्द्रको ठाडो आदेशमा दमनको नीति अगाडि सारेको थियो । अर्कोतर्फ जनताको जनवादी सत्ताका भ्रुणहरु विकास भैसकेका थिए । जनयुद्धले विकास गरेका र स्थापित गरेका ऐतिहासिक पर्व तथा दिवसहरु नै हामी लागि उत्सव र पर्वको रुपमा मनाउने बानी परिसकेको थियो ।

हाम्रा लागि यस्ता चाडपर्व र दिवसहरु एक आपसमा खुसी साटासाट गर्ने शुभकामना आदानप्रदान गर्ने लगायतका कार्यहरु एजेण्डाको रुपमा स्थापित भइसकेका थिए । हामीले पनि त्यही अवसरमा मनाउने गर्दथ्यौ । सहिद भएका साथिहरुलाई सम्झने र उनीहरुको प्रतिवद्धता पुरा गर्ने संकल्प लिएर नयाँ योजना निर्माण गर्ने उत्सवको रुपमा यसपर्वलाई लिइन्थ्यो । लडाईको रणसंग्राममा को कति बेला सहिद हुने हो कुनै ठेगान नभएका हामीहरु सहिदले देखाएको बाटो कहिल्यै नभुल्ने र उहाँहरुको सपना साकार पार्ने कसम खाएका हुन्थ्यौ । वर्ग संघर्ष एउटा चियापानको खेल होइन । यो त भयानक पीडामय युद्ध हो भन्दै निरन्तर क्रान्तिमा होमिएका थियौ । यो सरल रेखावाट होइन, यो त बक्र रेखावाट अगाडि बढ्छ भन्ने साहस बटुलेका थियौ । यदी आफु संगै दुनियाँलाई बदल्न खोािजन्छ भने यातनाका हरेक दस्तावेजमा हस्ताक्षर गर्ने हिम्मत गर्नुपर्दछ । यसवाट जनयुद्ध पनि अछुतो थिएन ।

हामीले युद्ध र प्रेममा सबै कुरा जायज हुन्छन्, यसको कुनै सीमा हुदैन भनेझैँ जोखिम भित्र जोखिमको बीचवाट हरेक प्रतिकुलता भित्र अनुकुलता खोज्दै हामीहरु जनयुद्ध दिवस, सहिद दिवस, ऐतिहासिक विरता दिवसलाई आफ्नो मुख्य पर्वका रुपमा मनाउने गर्दथ्यौ । २०६१ साल फागुन १ गते दाङको स्युजा बजारमा धुमधामका साथ होली खेलेर हामीले एरिया पार्टीको अगुवाइर्मा जनयुद्ध दिवस मनाएका थियो । त्यहाँ सुरक्षाको दृष्टिकोणले हाम्रो लागि पायक पर्ने भूगोलको रुपमा रहेको थियो । पहाडी इलाका हाम्रो लागि अति उत्तम नै थियो । जिल्लाभर यस्ता कार्यक्रमहरु गर्ने परिपत्र जारी हुन्थ्यो । हप्तौदिन सम्मका कार्यक्रमहरु तयार गरिन्थ्यो त्यत्तिबेला । त्यही शिलसिलामा म घोराही बजार क्षेत्रमा क्रियाशिल भएकोले कार्यक्षेत्र तर्फ फर्किएको थिए ।

बजार इलाका संवेदनशिल क्षेत्र, छापामार तरिकाले मनाउनु पर्दथ्यो । फागुन १ गते सामुहिक रुपमा स्युजामा जनयुद्ध दिवस मनाए पनि आफ्नो भूगोलमा पनि केही गतिविधि अनिवार्य रुपमा बढाउनु पर्दथ्यो । त्यही शिलशिलामा म बजार इलाकाको एक सिपाहीको हैसियतले शहरमा केन्द्रित थिए । म एक्लै भएकोले घोराही बजारमा केही कार्यक्रम गर्ने हिम्मत भएन । बजारको गतिविधि बुझेर उकालो यात्रा घोरदौराको तयारी गरे । करिव १ घण्टाको निरन्तर यात्रा पछि घोरदौरा पुगे । त्यहाँ गाउँको वरपरको वातावरण बुझेर कार्यक्रमको योजना बनाए । पार्टीको परिपत्र अनुसार पहिलो दिन जनयुद्ध दिवस, अविर जात्रा, शुभकामना आदान प्रदान, दोस्रो दिन अर्थात २ गते फायरिङ जुलुस, ३ गते अन्र्तक्रिया जनयुद्धको बारेमा जनता संग छलफल लगायतका सप्ताह व्यापी कार्यक्रम तय हुन्थ्यो । सोही बमोजिम घोरदौराको १ जना दाजु नाम त बिर्सिए तर देउखरे दाजु भनेर सबैले चिन्ने गर्दथे । उहाँ संग सल्लाह गरी साथमा लिएर साझको समय थियो । हामी २ जना दाजु भाई भएर गफिदै अलि तल झरेर स्कुल नजिकैको लेक बाट घोराही बजार नियाल्यौ । बजारमा धिपधिपे बत्तिहरु बलिरहेका थिए ।

दाजु भाई गफमा व्यस्त भयौ एकछिन । हो त्यही ठाउँ हो दाजु घोराही बजार भन्ने कि सामन्तीको किल्ला ? मैले भने । मनमा आक्रोश पनि पैदा भयो । करिव साझको ९ बजिसकेको थियो । गाउँका मानिसहरु सबै घरभित्र थिए । सुनसान समय हुन थालेको थियो । ठिक त्यही समयमा बजारलाई लक्षित गरि बजार क्षेत्रका मानिसलाई आवाज सुनाउने गरी र शत्रुपक्षलाई धक्का दिनको लागि, साथै आफ्नो उपस्थिति जनाउनलागि पनि २ वटा एम ३६ ग्रिनेट – बम पड्काएर फायरिङ गरेका थियौ । फायरिङ पश्चात लगत्तै २ दाजुभाईले एकछिन नारा जुलुस लगाई १० औँ बर्षगाठ भव्य रुपमा सम्पन्न गरेको निष्कर्ष सहित आफ्नो गन्तव्य तिर लागेका थियो । त्यत्तिबेलाको समयमा फागुन १ गते हाम्रा लागि निकै चासो र उत्साहको पर्व हुन्थ्यो । पछि निकै उतार चढावको बीचमा जनयुद्ध दिवस मनाएपनि युद्धको समयमा मनाउने दिवसको छुट्टै आनन्द रौनकता छाउने गर्दथ्यो । शान्ति प्रक्रिया पछिका दिवसहरु आफ्नै महत्वको भएपनि आम गाउँले जनता संग मनाउने पर्वले सकारात्मक महत्व बोकेको थियो । यसरी आम जनताको त्याग र वलिदानवाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र उपलब्धीको संस्थागत विकासमा जनयुद्ध दिवसले थप बल पु¥याउन सकोस भन्दै ३३ औँ जनयुद्ध दिवसको अवसरमा आम नागरिकहरुमा शुभकामना ।

प्रकाशित मिति : २०८२ फाल्गुन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस