६१ प्रतिशत मतदान भयो – निर्वाचन आयोग

काठमाडौं,

निर्वाचन आयोगले देशभर ६१ प्रतिशत मतदान भएको दाबी गरेको छ । १५ स्थानमा मतदान स्थगित भएको जानकारी दिएको आयोगले सुर्खेत, नवलपरासी पूर्व, बाजुरा र गुल्मीका १५ केन्द्रमा मतदान स्थगित भएको जनाएको हो।

विभिन्न विवादपछि सो स्थानको मतदान स्थगित भएको आयोगले जनाएको छ। निर्वाचन आयोगमा पत्रकार पत्रकार सम्मेलन गर्दै आयोगले स्थगित गरिएका स्थानमा कहिले र कसरी पुनः मतदान गराउने भन्ने विषयमा छलफल गरिरहेका जनाएको छ ।

आयोगले छिटफुट घटनाबाहेक शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न भएको बताएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले पत्रकार सम्मेलन गर्दै भने,यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो, केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

अघिल्लो निर्वाचन भन्दा यो करिव १७ प्रतिशत कम हो । २०७४ सालको प्रतिनिधिसभातर्फको ६७.६३ प्रतिशत मत खसेको थियो । छ महिनाअघि भएको स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

त्यसबेला देशभरबाट १ करोड १८ लाख ५६ हजार मत खसेको थियो । विवरण आउने क्रम अहिले पनि जारी छ। हालसम्म प्राप्त विवरणअनुसार ६१ प्रतिशत मतदान भएको देखिन्छ।

सम्पूर्ण विवरण आएपछि यो केही प्रतिशत बढ्न सक्छ। तर यो हाम्रो अपेक्षाभन्दा कम हो,पत्रकार सम्मेलनमा उनले भने। स्थानीय तह निर्वाचनमा प्रदेश १ मा ६५.३५ प्रतिशत, मधेसमा ६७.६९ प्रतिशत, बाग्मतीमा ६४.१६ प्रतिशत, गण्डकीबाट ६८.२८ प्रतिशत, लुम्बिनीमा ६६.७९ प्रतिशत, कर्णालीमा ७० प्रतिशत र सुदूरपश्चिममा ६५।८० प्रतिशत मतदान भएको थियो । यसैबीच निर्वाचन आयोगले आज रद्द भएको मतदान केन्द्रमा २ दिनभित्र मतदान गर्न निर्देशन दिएको छ ।

आइतबार निर्वाचन सम्पन्न भएपछि पत्रकार सम्मेलन गर्दै आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई यस्तो निर्देशन दिएको हो । आयोगले आवश्यक तयारी गरेर २ दिनभित्र मतदान गराउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस