
काठमाडौं ।
भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान पौने ८ बजे मध्यपुरठिमी नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोलमा आगलागी भएको हो ।
आगलागी ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । आगलागीमा परी आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको मृत्यु भएको जिल्ला प्रही कार्यालय भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। पौने ९ बजे उनी मृत भेटिएको र मृतक अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिस रोगकी बिरामी रहेको प्रहरीको भनाइ छ ।
यस्तै हरिशरणकी १४ वर्षीया छोरी नित्मा केसीको उद्धार गरी कोरियन अस्पताल लगिएको र उनको अवस्था समान्य रहेकोले डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल, जनप्रतिनिधि र स्थानीयको सहयोगमा पौने ९ बजे आगो नियन्त्रणमा आएको थियो ।
आगलागी कसरी भयो भनेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।