चुनाव पाँच बर्षपछि एक पटक आउने पर्व हो : अमरसिंह पुन

रोल्पा । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति एवं बाम लोकतान्त्रिक गठबन्धनका साँझा रोल्पा क्षेत्र नं २ (ख) का प्रत्यक्ष उम्मेदवार अमरसिंह पुनले चुनाव पाँच बर्षपछि एक पटक आउने पर्व भएको समेत बताएका छन् । निर्वाचन परिचालन समिति क्षेत्र नं. २ (ख) रोल्पाले आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभालाई घर्तीगाउँमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले पाँच बर्षको महान चाडपर्वमा आफुहरु सहभागी भएको बताए ।

सभाको विशिष्ट अतिथी समेत रहेका पुनले संविधानको रक्षा सँगै २०७४ पछिको दोस्रो चरणको निर्वाचनको संघारमा भएको समेत बताए । देशभरीनै निर्वाचन हुने बताउदै रोल्पामा पनि सबै आफ्नै क्षेत्रमा सहभागी भएको र यो पाँच–पाँच बर्षमा आउने पर्व भएको उनको भनाई छ । ‘चुनावलाई स्वच्छ, निस्पक्ष, भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुपर्ने तपाईं हामी सबैको दायित्व हो’ उनले भने, अहिलेको समय बद्लिएको छ, परिस्थिति बदलिएको छ, अहिले देशभरी राष्ट्रिय राजनीतिमा परिवर्तनशिल वातावरण बनेको छ । हामीले परिवर्तनका लागि धेरै दुख गर्‍यो, धेरै संघर्ष गर्‍यौं, धेरै खुन पसिना बगायौं र धेरैले आफ्नो बलिदान दिए । आज सबै ठूला–ठूला परिवर्तन सम्भब भएका छन् ।’

राजनीति स्थायीत्व, संविधानको रक्षा, परिवर्तनको लागि बाम लोकतान्त्रिक शक्ति एक भएको समेत उनले बताए । लामो समयको राजनीतिक परिवर्तन बाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई अप्ठ्यारो दिशा तिर लैजान खोजेको शक्ति विरुद्ध एकै ठाउँमा आएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस