दोहोरी साँझ सञ्चालक धन थापा विरुद्ध श्रीपालले दिईन् निवेदन – परिवारलाई समेत मार्ने धम्की

काठमाडौं, नेपाल । जापानमा सञ्चालित धौलागिरी दोहोरी साँझमा सांगीतिक प्रस्तुति दिन पुगेकी लोकगायिका अमृता श्रीपालले आफूमाथि भौतिक आक्रमण भएको भन्दै उक्त दोहोरी साँझका सञ्चालक धन थापा विरुद्ध राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, जापान शाखामा निवेदन दिएकी छन् ।

गत अगस्ट १३ मा जापानको ओसाका कोबे सहरस्थित धौलागिरि दोहोरी साँझमा सांगीतिक प्रस्तुतिका लागि स्पोन्सर गरेका बागलुङका थापाविरुद्ध गायिका श्रीपालले निवेदन दिएकी हुन् ।

उनले आफू जापान प्रवेश गरेपछि हरेक कार्यक्रममा गाउँदा पाएको पारिश्रमिक थापालाई कमिसन दिनुपर्ने, तर आउन जान यातायात खर्च समेत नदिने गरेको उनले निवेदनमा उल्लेख गरेकी छन् । कार्यक्रमका सहकर्मीसँग अनैतिक सम्बन्ध राखेको जस्ता आरोप समेत थापाले लगाउने गरेको श्रपालले निवेदनमा उल्लेख गरेकी छन् ।

गायिका श्रीपालले निवेदनमा उल्लेख गरेकी छन्, ‘मेरो अझै दुई महिनाको भिसा बाँकी रहेको र आफू कलाकार रहेको हुँदा केही समय जापानमा बस्ने र तय भएका सांगीतिक कार्यक्रममा प्रस्तुति दिने माहौल सिर्जना गरिदिनुहुन प्रतिष्ठान, जापान शाखा समक्ष हार्दिक अनुरोध गर्दछु, निज थापाले मलाई जापानमा र मेरो नेपाल म्याग्दीमा रहेको परिवारलाई समेत मार्ने धम्की दिने गरेको हुँदा मलाई मानसिक पीडा, सामाजिक बेइज्जत, सांगीतिक करिअरमा असर पर्नुका साथै चरित्र हत्याको पीडाले अति धेरै पीडित बनेकी छु, उसको स्वार्थ पूरा नहुँदा सेप्टेम्बर ११ मा पनि भौतिक रुपमा ममाथि आक्रमण गरेपछि मैले आफ्नो ज्यान जोगाउँदै ओसाकाको एक घरमा शरण लिई लुकीछिपी बसिरहेको छु ।’

प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस